चामल आयात वर्षेनी बढ्दै, १० महिनामै भित्रियो ४४ अर्बको

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ५ वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने बताएका छन् । यस अघि चक्रपाणी खनालले ३ वर्षमा धान, मकै लगायतका वस्तुमा आत्मनिर्भर हुने घोषणा गरेका थिए ।उत्पादन वृद्धि गर्ने कार्यक्रम बिनै आत्मनिर्भर हुने घोषणा गरे पनि धान, मकै, गहुँ लयगायत मुख्य खाद्यान्न बालीको उत्पादन भने झनै घट्दै गइरहेको छ ।

 

सरकारले पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको थियो भने धानमा ३ वर्षभित्र आत्मनिर्भर हुने लबनाइने लक्ष्य राखिएको थियो । हरेक सरकारले पटकपटक नयाँनयाँ विषय उठान गरेपनि कार्यान्वयन हुन नसक्दा प्रत्येक साल नेपालले भारतलगायतका देशबाट प्रतिमहिना साढे ३ अर्बको चामल आयात गर्दै आएको विभिन्न तथ्याङ्कमा उल्लेख गरिएका छन् ।

 

धान उत्पादन वृद्धि गर्न नसक्दा चामल आयात भने वर्षेनी बढ्दै गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिना (साउन–बैशाख) मा नेपालमा कुल ४४ अर्ब ६८ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।

 

यस अवधिमा १८ अर्ब २५ करोड रुपैयाँ बराबरको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सोही अवधिमा २६ अर्ब ४३ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ ।

 

चालू आवको १० महिनामै गत वर्षभरीको भन्दा पनि करिब ११ अर्बको चामल आयत भइसकेको छ । यही अनुपातमा आयात भएमा करिब ५३ अर्बको चामल आयात हुने देखिन्छ ।

 

यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३३ अर्ब ६५ करोड रुपैयाँ बराबरको धान, चामल आयात भएको थियो । सो वर्ष १० अर्ब ४७ करोड रुपैयाँ बराबरको धान आयात भएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल ३२ अर्ब ५९ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

 

उत्पादन नबढाइ आत्मनिर्भर हुने घोषणा

 

सरकारले धान उत्पादन बढाउने ठोस नीति तथा कार्यक्रम बिनै ५ वर्ष भित्र चामलमा आत्मनिर्भर हुने घोषण गरेकको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ागामी आर्थिक वर्षको बजेटमार्फत ५ वर्ष भित्र मुलुक चामलामा आत्मनिर्भर हुने घोषणा गरेका हुन् ।

 

यस्तै, सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गर्दै २ वर्षभित्रमा नेपाललाई दूध र तरकारीमा आत्मनिर्भर गर्ने घोषणा गरेको छ । ३ वर्षभित्रमा गहुँ, मकै, कोदो र फापरमा आत्मनिर्भर हुने घोषणा गरेको छ ।

 

आर्थिक सर्वेक्षण २०७७/७८ ले चालू आवमा कृषिको कुल गार्हस्थ्य क्षेत्र घट्दै गई २५.८ प्रतिशत पुग्ने अनुमान गरेको छ । सर्वेक्षणले कृषि पेशामा लाग्ने जनशंख्या घट्दै गएको देखाएको छ । २००८ मा कृषि क्षेत्रमा ७३ प्रतिशत जनशक्ति रहेकोमा हाल ६० प्रतिशत जनसंख्या कृषि पेशामा रहेको देखाएको छ ।

 

चालू आर्थिक सर्वेक्षणले खाद्यन्न बाली (धान, गहुँ, कोदो, जौँ), औद्योगीक बाली(उखु, कफी, चीया), दालहन बाली (मसुरो, चना, मास, भटमास) को उत्पादन घटेको देखाएको छ ।

 

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

 

गत वर्ष वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको थियो । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

 

देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।

 

नेपालीको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड नाघिसकेको छ । सो सङ्ख्यालाई चामल पुर्याउन झन्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ ।

उपभोग बढ्दा अण्डाको माग धान्न मुस्किल, अझै महँगिने सम्भावना Read Previous

उपभोग बढ्दा अण्डाको माग धान्न मुस्किल, अझै महँगिने सम्भावना

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?