सीएनएन । अमेरिकामा मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाउन जागरुक बनाउनका लागि सरकारले पुरस्कार दिने भएको छ । हालै अमेरिकाको ओहियो राज्यमा कोरोना खोप लगाउने मानिसहरुलाई १० लाख अमेरिकी डलर (करिब साढे ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरिएको छ ।
ओहियो सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत भ्याक्सिन लगाउने १८ वर्ष माथिका मानिसहरुमध्ये ५ जनाले १०÷१० लाख डलर पुरस्कार पाउनेछन् ।
गभर्नर माइक डेवाइनले गत मे १३ मा घोषणा गरको उक्त अभियानले ओहियोमा खोप लगाउने मानिसहरुको दर ४५ प्रतिशतले बढाएको सीएनएनले उल्लेख गरेको छ ।
यसैबीच भ्याक्स अ मिलियन नामक उक्त चिठ्ठा कार्यक्रम अन्तर्गत पहिलो विजेताको घोषणा भैसकेको छ । दक्षिणपश्चिमी ओहियोकी एक महिलाले पहिलो १० लाख डलर जितेकी छिन् । सिल्भरटनमा बस्ने अब्बिगेल बुगेनसेकले खोप लगाएबापत १० लाख डलर हात पारिन् ।
१० लाख डलर नगद पुरस्कारका अलावा ओहियोगले १८ वर्ष मुनिका किशोर किशोरीहरुका लागि पूर्ण छात्रवृत्तिको पुरस्कार पनि घोषणा गरेको छ । उक्त छात्रवृत्ति विजेताको छनोट पनि खोप लगाउनेहरु मध्येबाट गोलाप्रथाबाट छानिन्छ । डाइटनमा बस्ने जोसेफ कोस्टेलो नामक किशोरीले पहिलो छात्रवृत्ति हात पारेको बुधबार घोषणा गरियो ।
हालसम्म १० लाख डलर पुरस्कारका लागि २७ लाख जनाले तथा छात्रवृत्तिका लागि १ लाख भन्दा धेरै किशोर किशोरीहरुले नाम दर्ता गराइसकेको बताइएको छ । आगामी चार हप्तासम्म हरेक बुधबार विजेताको घोषणा गरिनेछ ।