काठमाडौं । काठमाडौं महानगरपालीकाले चाडवाड लक्षित गरी महानगरभित्रका सडक तथा फुटपाथ मर्मत सम्भार तथा रंगरोगन गर्ने भएको छ । महानगरले सडकपेटी, रेलिङ, ढल मर्मत लगायतका कार्य सुरु गर्ने भएको हो ।
महानगरले पानी जम्ने स्थानहरु समेत ७ दिनभित्र पहिचान गरी त्यसको व्यवस्थापनको काम सुरु गरिने जनाएको छ । सो काम भदौ मसान्तभित्र सम्पन्न गरिने महानगरका शहरी सुव्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए ।
काठमाडौं महानगरले साउन २९ गते बसेको बैठकले गरेको निर्णय अनुसार सहर झिलिमिली बनाउने कार्य हुन लागेको हो । अबको ७ दिनमा सबै पहिचान गरी हामी काम सुरु गर्ने छौँ, भाद्र मसान्तसम्ममा मर्मत सम्भारको काम सक्ने योजना छ,’ कुँवरले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार यस योजना अन्तर्गत केयूकेएलको खानेपानीको पाइप लाइन सडक पेटीमा विछ्याउँदा खनेको भागलाई मर्मत गर्ने क्रममा त्यसको दायाँबायाँ तथा जोडिएका अगाडि पछाडि समेत मर्मत गर्नु पर्ने छ । त्यस्ता काम केयुकेएलको पीआईडीबाट मर्मत सम्भार हुने निर्णय गरिएको हो ।
महानगर क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा सडक विभागबाट गराउँदै आएको जेब्राक्रसिङ रोड मार्किङको कार्य दशैं अगाडि सम्पन्न गर्ने निर्णय भएको हो ।
आकाशे पुल रंग्याइँदै
शहर रंगाउने क्रममा टुँडिखेल वारिपरी तथा जमल स्थित आकाशेपुलको मर्मत सम्भार तथा रङरोगन गरिने छ । महानगरले सार्वजनिक निजी साझेदारीमा आकाशे पुलहरुमा रंगरोगन गर्न लागेको हो ।
यस्तै महानगर क्षेत्रभित्र विभिन्न प्रयोजनको लागि विद्युतीय तथा टेलिफोनका पोलमा जथाभावी जडान गरिएका तारहरु व्यवस्थित गरिने भएको छ । त्यसका लागि सम्वन्धित केबुल तथा इन्टरनेट प्रदायक कम्पनीहरुलाई नगर प्रहरी मार्फत पत्रचार गरिएको छ ।
सो कार्यन्वयनका क्रममा ठाउँठाउँमा झुण्डिएर लत्रिएका देखिने, दुर्घटना घट्ने र यातायातमा अवरोध पर्ने देखिएका तारहरु कामपा वातावरण व्यवस्थापन विभागले व्यवस्थापन गर्ने निर्णय भएको कुँवरले बताए । यस कार्यलाई भिजिट नेपाल २०२० लाई मध्यनजर गरी प्रभावकारी ढंगले निरन्तरर्ता दिँदै लैजाने कुँवरले जानकारी दिए ।