काठमाडौं । हिउँदमा समेत पहिरो खसेर हैरान बनाउँदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान भएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त सुरुङमार्ग निर्माणका लागि ४५ दिनको म्याद राखेर ग्लोबल टेन्डर आह्वान गरेको हो ।
गत वर्ष नै अर्थ मन्त्रालयले सुरूङ मार्ग बनाउन १० अर्ब १५ करोडको बजेट स्वीकृत गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । टेन्डर आह्वान भएसँगै अब उक्त सुरूङमार्ग निर्माण हुने पक्का भएको हो ।
सडक विभागका अनुसार सुरुङमार्ग पाल्पाको सिद्धबाबा मन्दिरको उत्तरतर्फको चिडियाखोलाको छेउबाट शुरु भएर दोभाननजिकै रामापिथेकस पार्कको उत्तरतर्फ निस्कनेछ । यसको लम्बाइ १ हजार १२६ मिटर हुनेछ । साथै माथिबाट ढुंगा झर्ने ३ किलोमिटर क्षेत्रमा रकनेट र जाली लगाउने कामसमेत स्वीकृत बजेटभित्रैबाट गरिनेछ।
सुरूङ मार्ग बनेपछि पहिरोमा परी यात्रुहरूले अकालमा ज्यान गुमाउनु पर्ने समस्याको अन्त्य हुनेछ ।
