काठमाडौं । कोभिड १९को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञााले दुग्धजन्य वस्तुकोखपत घटेको छ । दूधको संकलन, खपत घटेसँगै किसान मारमा परेका छन् ।
किसानहरुले ३ महिना यता दूधको भुक्तानी पाउन सकेका छैन्न । किसानहरुको ३५ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको डीडीसीका मार्केटिङ प्रबन्धक संजीव झाले बताए ।
‘पहिलेदेखिकै स्टकमा रहेका सामान विक्री नहुँदा किसानको भुक्तानी हुन नसकेको हो,’ उनले भने, ‘उत्पादित वस्तु नै विक्री नभएपछि कसरी भुक्तानी गर्नु ?’ उनले पछिल्लो समय दूध स्टकमा राख्न सक्ने अवस्था समेत नरहेको बताए । विगतकै कोरोनामा राखिएको स्टक क्लियरेनस हुन नसकेकाले दूधको कुनै स्टक समेत राख्ने स्थान नभएको उनले बताए ।
हाल डीडीसीसँग १ हजार ६२ मेट्रिकटन धुलो दूध स्टकमा रहेको छ । ४२५ मेट्रिकटन बटर स्टकमा रहेको छ । झाले डीडीसीँग १ अर्ब रुपैयाँ बढीका सामान अझै स्टकमा रहेको बताए ।
दूधको खपत पनि घट्यो
अहिले दैनिक देशभर १ लाख ६० हजार लिटर दूध खपत भइरहेको छ । निषेधाज्ञाा अघि १ लाख ८० हजार लिटर दूध खपत भइरहेको थियो । कोभिड अघि समेत गत वर्षको कोरोनाको असरका कारण दुग्ध क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन ।
झाका अनुसार दोस्रो लहरको निषेधाज्ञा अघि दूधको खपत २५ प्रतिशत कम रहेको थियो । फेरि शुरु भएको कोभिडको निषेधाज्ञाले थप १५ प्रतिशत खपत कम गराएको छ । यसरी हेर्दा दूधको खपत ४० प्रतिशत हाराहारीमा घटेको देखिन्छ ।
दूधको खपत सँगै दूधको संकलनमा समेत कमी आएको छ । दूध संकलन ७० देखि ८० हजार मेट्रिकटन भइरहेको उनले बताए । विगतमा सामान्तया दूधको संंकलन दैनिक १ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
उनले सरकारसँग केही समस्या समाधानका लागि मन्त्रालयमा खबर गरिएको बताए । उनले ट्याक्स सहजीकरणका लागि ५ रुपैयाँसम्म सब्सिटीको माग गरिएको बताए । किसानको भुक्तानी सहजीकरणका लागि बैंकबाट ऋणको व्यवस्था गर्न प्रस्ताव गरिएको उनले बताए ।
दुग्ध उत्पादन सबैभन्दा धेरै होटल, रेष्टुरेन्टमा खपत हुने गरेकोमा हाल सबै बन्द हुँदा नकरात्मक असर परेको हो । ढुवानीमा समस्या नभए पनि दुग्ध जन्य उत्पादनको बजारीकरणमा उल्लेखनीय गिरावट आएको छ । जस कारण उत्पादित वस्तु भण्डारणमा समस्या उत्पादन भइरहेको छ ।
दूध दैनिक उपभोग्य वस्तु भएकाले उत्पादनमा कमि नल्याउन दैनिक दुई सिफ्ट बनाएर सबै मापदण्डसहित काम भइरहेको उनले बताए ।