काठमाडौं । चालू आर्थिक वर्षमा दर्ता हुने नयाँ उद्योगको संख्या घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालू वर्षको गत वर्षको तुलनामा ७३ वटा कम नयाँ उद्योग दर्ता भएका छन् ।
चालू आर्थिक वर्षको १० महिना (२०७७ साउनदेखि २०७८ वैैशाखसम्म) अवधिमा कुल १७६ उद्योग दर्ता भएका छन् । जबकी गत वर्ष सोही अवधिमा २४९ नयाँ उद्योग दर्ता भएका थिए ।
दर्ता हुने नयाँ उद्योग संख्या घटे पनि लगानी प्रस्ताव भने गत वर्षको तुलनामा करिब ४ अर्बले बढेको छ । चालू आवमा १७६ उद्योगमा कुल १ खर्ब ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत वर्ष सोही अवधिमा २४९ नयाँ उद्योगमा १ खर्ब ३९ अर्ब ६७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
उद्योग विभागका सूचना अधिकारी घनश्याम पराजुलीका अनुसार कोरोनाका कारण सृजित अनिश्चिततका कारण उद्यमीहरुले थप लगानी गर्न हिच्किचाउँदा नयाँ उद्योग दर्ता हुने क्रम घटेको हो ।
‘गत वर्षदेखि नै जारी कोरोना प्रभाव यस वर्ष पनि कायम रह्यो । यसले उद्यमीहरु नयाँ उद्योगमा लगानी गर्न उत्साहित भएनन् । जसकारण नयाँ उद्योग दर्ता घटेको हो,’ उनले भने, ‘यद्यपि, प्रतिकृल परिस्थितिमा पनि यति उद्योग दर्ता हुनु सन्तोषजनक अवस्था हो ।’
कुन क्षेत्रमा कति उद्योग दर्ता ?
उत्पादनमूलक
चालू वर्षमा उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै ५७ उद्योग दर्ता भएका छन् । । सो उद्योग १६ अर्ब ९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । गत वर्षको सोही अवधिमा उत्पादनतर्फ ६० नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १७ अर्ब ४३ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो ।
पर्यटन
चालू आर्थिक वर्षमा गत वर्षको तुलनमा पर्यटन क्षेत्रमा नयाँ उद्योग दर्ता आधाभन्दा धेरैले घटेको छ । गत वर्ष १० महिनाको अवधिमा पर्यटन क्षेत्रमा ८५ उद्योग दर्ता भएकोमा चालू वर्षमा आधाभन्दा धेरैले घटेर ३५ वटामा सीमित भएको छ ।

चालू आवमा उक्त उद्योगमा ११ अर्ब १२ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रमा लगानी घट्नु स्वभाविक भएको व्यवसायीहरु बताउँछन् ।
ऊर्जा
चालू आर्थिक वर्षको १० महिनामा ऊर्र्जातर्फ २७ नयाँ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ऊर्र्जा तर्फ ३८ नयाँ उद्योग दर्ता भएका थिए ।चालू वर्षमा ऊर्जा क्षेत्रमा १ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । गत वर्ष ९१ अर्ब २४ करोड रुपैयाँ लगानी प्रस्ताव आएको थियो ।
कृषि
गत वर्षको तलनामा चालू आवमा कृषि क्षेत्रमा लगानी बढेको देखिन्छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कृर्षि तर्फ १८ नयाँ उद्योग दर्ता भएका हुन् । सो उद्योग ४ अर्ब २८ करोड रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा आएको हो । सो उद्योगले १ हजार ७५५ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कृषिमा ९ नयाँ उद्योग दर्ता भएका थिए । १ अर्ब १२ करोड रुपैयाँ लगानीमा दर्ता भएको सो उद्योगले ३८१ जनालाई रोजगार दिने अनुमान गरेको थियो ।
सूचना तथा प्रविधि
चालू आर्थिक वर्षमा यस क्षेत्रमा ५ वटा नयाँ उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा ६५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउने तयारीमा रहेको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सूचना तथा प्रविधि तर्फ १७ वटा नयाँ उद्योग दर्ता भएका थिए । सो उद्योग २ अर्ब ८४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
पूर्वाधार
चालू वर्षम पूर्वाधार क्षेत्रमा २ वटा मात्र उद्योग दर्ता भएका छन् । सो उद्योग १ अर्ब ७३ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेका हुन् । गत आर्थिक वर्षमा पूर्वाधार तर्फ एउटै पनि नयाँ उद्योग दर्ता भएका थिएन्न ।
सेवामूलक
चालू वर्षमा सेवामूलक क्षेत्रमा ३१ नयाँ उद्योग दर्ता भएका छन् । उक्त उद्योग ५ अर्ब ४० करोड रुपैयाँ लगानी गरी सञ्चालनमा ल्याइने जनाइएको छ । गत वर्ष सेवामूलक क्षेत्रमा ४० वटा नयाँ उद्योग दर्ता भएका थिए । उक्त उद्योगमा ७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो ।
खनिज
चालू वर्षमा खनिजतर्फ एउटा मात्र उद्योग दर्ता भएको छ । सो उद्योग १२ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको हो । उक्त उद्योग सञ्चालनमा आएपछि ९२ जनाले रोजगार पाउने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा खनिज तर्फ कुनै पनि उद्योग दर्ता भएका थिएन्न ।