काठमाडौं । शिखर इन्स्योरेन्सको सेयरमा आज लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागे पनि खरिदका लागि माग उच्च रहेको छ भने विक्रीकर्ता देखिँदैनन् ।
यद्यपि, दिउँसो १२:४५ बजेसम्म कम्पनीको १ लाख बढी कित्ता सेयर कारोबार भइसकेको छ । बजार खुल्नसाथ करिब ५ प्रतिशतले बढेर कारोबार भए पनि त्यसपछि सेयर किन्नेको ओइरो लागेपछि भाउ उचालिएको छ ।
कम्पनीको भाउ १० प्रतिशतले बढेर प्रतिकित्ता २१२८ रुपैयाँ पुगेको छ । यसअघि लामो समय स्थिर जस्तै रहेको कम्पनीको सेयर मूल्य आज एक्कासी उचालिएको हो ।
बीमा समितिबाट शिखरले ३० प्रतिशत हकप्रद निष्काशनका लागि अनुमति पाएको हल्ला बाहिरिएपछि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिँदा भाउ ह्वात्तै बढेको हो । यद्यपि, अहिलेसम्म आधिकारिक जानकारी भने आएको छैन ।