काठमाडौं । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् ।
सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ ।
मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ । सरकारले सङ्क्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् ।
आजका मितिसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा लगाइएको छ भने ३ जिल्ला मात्रै खुला छन् । निषेधाज्ञा लागू गरिएका जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ ।
देशका अधिकांश भाग ठप्प हुँदा निषेधाज्ञा नभएका जिल्ला तेह्रथुम, खोटाङ र मनाङ मात्र रहेका छन् । खुला रहेका ३ जिल्लाले निषेधाज्ञा आदेश जारी गर्न बाँकी भए पनि स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि उच्च सावधानी अपनाउँदै आएको छ भने छिमेकी जिल्ला बन्द रहेकाले अधिकांश गतिविधि पनि बन्द नै छ ।