काठमाडौं । निषधाज्ञा अवधिभर इमेलमार्फत अनुरोध गरेर मुद्दती खाताको नवीकरण गर्न सकिने भएको छ ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निषेधाज्ञाभर मुद्दती खाता नवीकरणको लागि इमेलबाट अनुरोध गर्न सकिने निर्णय गरेको हो ।
संघका अनुसार परिस्थितिबस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिनसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरी नवीकरण गर्न सकिने छ ।
बैंकर्स संघले ग्राहकहरुलाई बैंकिङ कारोबार घरैबाट गर्नका लागि आग्रहसमेत गरेको छ । ‘मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता ब्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरुलगायत कार्यहरु गर्न सकिन्छ,’ बैंकर्स संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै, सामान खरिद गर्दाका बखत समेत उपलब्ध भएसम्म कार्ड तथा क्यूआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोबार कम गर्नुहुन अनुरोध गर्दछौँ,’