काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण शाखाले कुल खर्चको ६८ प्रतिशत रकम कर्मचारीको तलब तथा भत्तामै सकाएको छ ।
महानगरले वातावरण सरसफाइ तर्फ तलब, भत्ता, सवारी दर्ता, मर्मत, पेट्रोल डिजेल लगायतका शीर्षकमा ४४ करोड रुपैयाँ खर्च गरेको तथ्यांकले देखाएको छ ।
सो शीर्षकमा महानगरले ९० करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसले महानगरले वातावरण अन्तर्गतको बजेटमा सरसफाइलाई भन्दा पनि बढि कर्मचारीको सेवा सुवीधामै खर्च गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७५/७६ मा महानगरले सरसफाइका लागि २ अर्ब ७० करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो । महानगरले उक्त बजेटको ६५ करोड ६६ लाख रुपैयाँ सडक सरसफाइमा खर्च गरेको हो । जुन कुल विनियोजित बजेटको २४ प्रतिशत मात्र हो ।
सरसफाइमा २४ प्रतिशत मात्रै खर्च
महानगरपालीकाले सरसफाइका लागि विनियोजन भएको कुल खर्च मध्ये २४ प्रतिशत मात्र खर्च गरेको छ ।गत आर्थिक वर्षमा तावातरण तथा सरसफाइ शीर्षकमा २ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको थियो । सो मध्ये ६५ करोड ६६ लाख रुपैयाँ मात्र खर्च भएको हो ।
महानगरले पार्क निर्माण तर्फ आर्थिक वर्ष २०७५/७६ मा २७ लाख रुपैयाँ खर्च गरेको छ । पार्कका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।मृत जीवजन्तु हटाउने अन्तर्गत २४ लाख रुपैयाँ खर्च गरेको छ । सो शीर्षकका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
नयाँ योजनामा महानगरले ९ लाख रुपैयाँ खर्च गरेको छ । नयाँ योजनाका लागि १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको थियो ।
रत्नपार्क विकासका लागि महानगरले १७ लाख रुपैयाँ खर्च गरेको छ । रत्नपार्क विकासका लागि ४४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
बाइसधारा उद्यान विकासमा महानगरले २८ लाख रुपैयाँ खर्च गरेको छ भने सोको लागि २ करोड रुपैयाँ विनियोजन भएको थियो ।शंखपार्क विकासका लागि ३ करोड विनियोजन भएकोमा २ करोड रुपैयाँ खर्च गरेको छ ।