जनता अक्सिजन नपाएर छट्पटाउँदै, प्रधानमन्त्रीलाई अपूरा आयोजना उद्घाटन गर्न हतार

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव छ । उपचार नपाउँदै अकालमै नागरिकहरुले ज्यान गुमाइरहेका छन् ।

 

तर, स्वास्थ्य क्षेत्रमा आएको संकट व्यवस्थापन तथा नियन्त्रणमा तदारुकता साथ लाग्नु पर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीको ध्यान भने त्यसतर्फभन्दा पनि अपूरा आयोजनाको शिलान्यस र उद्घाटनमा केन्द्रित भएको देखिन्छ ।

 

लामोसमयदेखि राजनीतिक किचलोको कारण छायाँमा पदै आएको कोरोनाले अझै प्राथमिकता पाउन सकेको छैन । पछिल्ला केही महिना यता स्रोत सुनिश्चित नभएका, डीपीआर नै नबनेका, निर्माणधीन अवस्थामै रहेका आयोजनाको शिलान्यास र उद्घाटन गर्न हतारिएका प्रधानमन्त्रीले अझै त्यस्तो कार्यलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

 

महाविपत्तिमा पनि स्वास्थ्य संकटलाई नजरअन्दाज गर्दै उनी भने आयोजनाको शिलान्यस र उद्घाटनमा रमाउन थालेका छन् । ३ साता अघि करिब ६० प्रतिशत मात्र काम पूरा भएको धरहरा उद्घाटन गरेका प्रधानमन्धीले आज फेरि एउटा अपूरो आयोजना उद्घाटन गर्ने भएका छन् ।

 

ललितपुरको गोदावरीमा निर्माणधीन ३ हजार क्षमताको सम्मेलन केन्द्र आज (वैशाख ३१ गते) उद्घाटन गर्ने भएका हुन् । हालसम्म करिब ९९ प्रतिशत काम सम्पन्न भएको भए पनि प्रधानमन्त्री ओलीले निर्माण बाँकी छँदै उद्घाटन गर्न लागेका हुन् ।

 

शतप्रतिशत निर्माण पूरा भएपछि मात्र उद्घाटन गर्नु पर्ने प्रोटोकल रहे पनि त्यसलाई मिच्दै उनले हतारमा उद्घाटन गर्न लागेका हुन् । पछिल्लो समय गैरसंवैधानिक काम गर्दै आएका र जनहितमा काम गर्न नसकेर व्यापक विरोध खेपी रहेका प्रधानमन्त्रीमाथि चर्चामा आउन अपूरा आयोजनाको उद्घाटन हतारिएको आरोप लागेको छ ।

 

अझै यी काम गर्न बाँकी

 

मुख्य सभाहलको भवन निर्माण सकिए पनि अझै फिनसिड. लगायत केही काम बाँकी नै रहेको छ । ठेकेदार केसी समानान्तर जेभीका परियोजना प्रबन्धक महेश भट्टका अनुसार केन्द्र वरिपरि रहने तीन प्रवेशद्वारमध्ये एक निर्माण सम्पन्न भए तापनि अझै दुई प्रवेशद्धार निर्माणको काम बाँकी रहेको छ । सो काम भइरहे पनि पूरा हुन अझै केही साता लाग्नेछ ।

 

यस्तै, भवनमा रङरोहन गर्दा कतै लागेका दागहरु हटाउनाका साथै भवन निर्माण गर्न हालिएको स्काफोल्डिङ झिक्ने आदि काम बाँकी छ । सो काम गर्न अझै केही दिन लाग्ने उनको भनाइ छ ।

 

गोदावरी सम्मेलन केन्द्रका आयोजना म्यानेजर मचाकाजी महर्जनले भने सबै काम पूरा भएको दाबी गरे । निर्माण स्थलमा ठेकेदारले निर्माणका क्रममा मजदुरका लागि बनाएको क्याम्पहरु हटाउन बाँकी रहेको उनले बताए । निर्माण सामग्री तथा क्याम्पहरु हटाउन बाँकी रहेको हुँदा सो आजसम्म हटाइसक्ने उनले बताए ।‘सम्मेलन केन्द्र निर्माण सकिसकेको छ, क्याम्पहरु हटाउन बाँकी हो, त्यो पनि एकरदुई दिनमा हटाइन्छ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

सञ्चालन कार्यविधि बनेकै छैन

 

यस्तै, सम्मेलन केन्द्र सञ्चालन कार्यविधि तयार भएको छैन । महर्जनले सञ्चालन कार्यविधि बन्ने क्रममा रहेको बताए । हालसम्म निर्माणपछि कसलाई हस्तान्तरण गर्ने विषयमा समेत कुनै छलफल नभएको बताए । हस्तान्तरणको टुंगो लागेपछि सञ्चालन कार्यविधि तयार हुने उनको भनाइ छ ।

 

लागत ८१ करोड पुग्यो

 

२०७६ कात्तिक २० गते सम्झौता भई कात्तिक २१ गतेबाट सो भवन निर्माण शुरु गरिएको थियो । सम्झैता अनुसार २०७६ चैत २४ गते निर्माण सम्पन्न गर्नुपर्ने भए पनि रुख कटान, कामदार अभाव लगायत कारण ढिलाइ भएको थियो ।

 

समानान्तर जेभीले सरकारसँग ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिए पनि त्यसभित्र लिफ्ट हाल्नेलगायतका केही काम गर्ने सम्झौता छुटेकाले पछि पुनः करिब १६ करोड थप गरी कुल ८१ करोड रुपैयाँ पुगेको छ ।

 

आधुनिक र प्रविधियुक्त यो सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा, सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको छ । यस सम्मेलन केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भइराखेको छ ।

 

११ रोपनी १४ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहेको छ । सो केन्द्रमा ए, बी र सी गरी तीन ब्लक रहेका छन् । यसरी एउटै हलमा एकै पटक ३ हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सक्ने मुलुककै पहिलो भवन निर्माण भएको हो ।

 

सम्मेलन केन्द्रमा कार्यालय कक्ष, विशिष्ट कक्ष, सहायता कक्ष भएको ब्लक ३ तलाको रहेको छ । जसमा आवश्यकता अनुसारको शौचालयको व्यवस्थासमेत गरिएको छ । मुख्य हलसँगै निर्माण हुने साना तथा अन्य कक्षको ब्लक समेटी एउटै हलको निर्माण भएको छ ।

माउन्टेन इनर्जीले बनाएको ४२ मेगावाटको मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो Read Previous

माउन्टेन इनर्जीले बनाएको ४२ मेगावाटको मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

थोरै रकम निक्षेप राख्न बैंकमा नआउन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आग्रह Read Next

थोरै रकम निक्षेप राख्न बैंकमा नआउन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आग्रह