काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको बजार यस साता पनि उही लय समातेको हो ।
गत साता करिब १०० अंकले घटेको बजार आज एकै दिन ७५ अंकले घटेको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन हुने हल्लाले लगानीकर्ताको मनोबल गिर्दा बजारमा असर देखिएको आकलन गरिएको छ ।
सरकारले पूर्ण लकडाउन नहुने बताउँदै आए पनि लगानीकर्ता निराशावादी हुँदाा बजारमा गिरावट आएको लगानीकर्ताको भनाइ छ । सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
आज सेयर बजार मापक सूचक नेप्से ७५.७९ अंकले घटेर २५७२.२२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६०.०४ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१५ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा ज्योति लाइफ इन्स्योरेन्स ३३ करोड र माथिल्लो तामाकोशीको २५ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र विशाल बजार कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । घट्दो बजारमा आज चन्द्रागिरी हिल्सका सेयरधनीले सबैभन्दा धेरै ८.४३ प्रतिशत गुमाएका छन् ।