काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक भएको छ । यससाताको ३ कारोबार दिनमा १०३ अंकले घटेको बजार आज दोहोरो अंकले लयमा फर्किएको हो ।
सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले बढेर करिब ६ अर्बको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १५.८० अंकले बढेर २६४८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र होटल तथा पर्यटन बाहेक बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ११४.०६ अंकले बढेको छ भने होटल समूह ५२.९२ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१४ कम्पनीमध्ये जम्मा १२८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३१ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक २५ करोड र एनआइसी एशिया लघुवित्त २१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र एनसीसी बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.४४ प्रतिशत गुमाएका छन् ।