काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले आक्रमक रुपमा सेयर कर्जा विस्तार गरेका छन् ।
चालू आवको ८ महिना (साउन(माघ) सम्म नेप्से परिसूचक १५०० बढी (दोब्बर भन्दा धेरै) अंकले बढ्दा कर्जा प्रवाह पनि झन्डै दोब्बरले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा ७६ प्रतिशतले वृद्धि गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ८१ अर्ब ४१ करोड ७१ लाख रूपैयाँ कर्जा लगानी गररेका छन् ।
यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७५.५१ प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको फागुनमसान्तसम्म जम्मा ४६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले चालू आवको ८ महिनामा मात्रै थप ३१ अर्ब ७४ लाख सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ सेयर कर्जा लागनी गरेका थिए । ८ महिनामै त्यस्तो कर्जा लगानी ६१.५१ प्रतिशतले वृद्धि भई ८१ अर्ब ४१ रुपैयाँ पुगेको छ ।
यस कारण बढ्यो सेयरमा कर्जा लगानी ?
कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा अपेक्षित कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा कर्जा लगानी बढाएका हुन् ।यद्यपि, बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर कर्जा ल गानी गरेका छन् ।
पछिल्लो समय सेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै सेयर कर्जा उल्लेख्य वृद्धि भएको हो ।
यस्तै, पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकको ब्याजदर अहिले ९ प्रतिशतभन्दा तल झरेको छ । जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्नेको संख्या बढेको हो ।
बैंकहरुले पनि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि विभिन्न आकर्षक अफर ल्याएर सेयरमा कर्जा लगानी बढाउन थालेका छन् । सस्तो ब्याजदरमा सहजै कर्जा पाइने अवस्था सृजना भएपछि पछिल्लो समय सेयर कर्जा रकम र ऋण लिनेको संख्या समेत बढ्दै गएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै सेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।
यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि सेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन) कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।