काठमाडौं । दुई पटक म्याद थप गर्दा पनि चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण पूरा नहुने भएको छ । पछिल्लो समय थपिएको म्याद वैशाख १३ गते सकिने भए पनि अझै करिब २४ प्रतिशत काम बाँकी रहेको छ ।
१८ महिना भित्र पूरा गरिने भनिएको सुख्खा बन्दरगाहको म्याद वैशाख १३ गतेका लागि दोस्रो पटक थप गरिएको थियो । परियोजना निर्माण सम्पन्न हुने म्याद गुज्रिन एक साताअघि ठेकेदार कम्पनी सान्सी–आशिष जेभी र लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न थप दुई महिनाको समय माग गरेको थियो ।
निर्माणकर्ताले थप समय माग गरेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । यस अघि निर्माणकर्ताले कोरोनाका कारण दोस्रोपटक थप गरेको थियो ।
हालसम्म आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत भएको छ । पानी परेको, समयमै कामदार नपाएको तथा निर्माण सामग्री ल्याउन कठिन भएको जस्ता समस्या देखाउँदै ठेकेदारहरुले म्याद थपको माग गरेका हुन् ।

कार्यकारी निर्देशक आशिस गजुरेलले ठेकेदार कम्पनीले थप २ महिना समय मागेको बताए । उनीहरुले थप २ महिना समय थप्नु पर्यो भनेका छन्, लिखित कारणसहित आए म्याद थप गर्ने छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।
कुल १ अर्ब ४४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजनाका लागि विश्व बैंकसँग ११ जुन २०१३ मा सम्झौता भएको थियो । ऋण सम्झौताको ५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरेका थिए ।
चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्न २०७५ साल माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानियवासीको विवादका बावजुत सिलन्यास गरेका थिए । सो आयोजना २०७७ असार मसान्तसम्म सम्पन्न हुनु पर्ने थियो । सो अनुसार काम हुन सकेन । जग्गा अधिग्रहण, मुआब्जा उछिन्दै अघि बढेको आयोजना अन्ततः कोभिड १९ का कारण समयमै पूरा हुन सकेन ।
८०० रोपनी क्षेत्रफलमा बन्न लागेको चोभार सुख्खा बन्दरगाहमा ६ सयभन्दा बढी कन्टेनर राखिने छन् भने २०० बढी ट्रक पार्किङ गर्न सकिने उनले जानकारी दिए । यस्तै बन्दरगाहमा भन्सार, बैंक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिने छ ।
सरकारले हिमाल सिमेन्टको सरकारी जग्गामा बन्दरगाह निर्माण गर्न लागेको भएपनि स्थानीयवासीले त्यसमा आफ्नो २१५ रोपनी हाराहारीमा जग्गा रहेको र सरकारले हडपेर बन्दरगाह निर्माण गर्न लागेको आरोप लगाउँदै आएका छन् ।निर्देशक गजुरेलले सो विषयमा हाल टुंगो लागि सकेको बताएका छन् । अहिले निर्माण पूरा गर्नु नै आयोजनाको मुख्य लक्ष्य बनेको उनले बताए ।