काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार आठौं दिन पोजेटिभ सर्किट लागेको छ । चैत २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य हरेक दिन १० प्रतिशतले बढ्दै आएको हो ।
८ कारोबार दिनमै कम्पनीको सेयर मूल्य दोब्बर भएको छ । ३६० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ८ दिनमै बढेर प्रतिकित्ता ७५१ रुपैयाँ पुगेको छ ।
कारोबारमा आएको १ हप्ता बितिसके पनि अझै कम्पनीको सेयरको सप्लाई भने आउन सकोके छैन । हरेक दिन खरिदकर्ताको उच्च चाप रहे पनि विक्रीकर्ता अत्यन्त न्यून रहेको छन् ।
अहिले सेयर हात पार्न सके केही हप्तामै मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।
कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।
आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।