काठमाडौं । चाबहिल–साँखु सडक खण्डमा चालू आर्थिक वर्षभित्र पनि सम्पन्न नहुने सम्भावना बढ्दै गएको छ । विगत ७ वर्षदेखि र्मिाणधीन रहेको यस सडकको ठेक्का म्याद सकिँदा यस वर्ष पनि पूरा नहुने देखिएको हो ।
हाल ठेक्का म्याद सकिँदा निर्माण ठप्प भएको छ । २०७२ सालदेखि विस्तार शुरु भएको यस सडक निर्माण पछिल्लो पटक थपिएको समय अनुसार गत पुस महिनामै सम्पन्न हुनुपर्ने थियो । तर, ठेक्का म्याद सकिएको ३ महिना बित्दा समेत ठेक्का म्याद थप हुन नसक्दा सडक निर्माणले गति लिन नसकेको हो ।
काठमाडौं उपत्यका विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले अहिले ठेक्का म्याद थप गर्ने प्रक्रिया भइरहेको बताए । ‘अहिले ठेक्का म्याद थप गर्ने प्रक्रिया अघि बढिरहेको छ,’ यादवले भने, ‘जतिसक्दो चाँडो ठेक्का म्याद थप गरी सडक निर्माण यसैवर्ष भित्र सक्ने गरी तीव्र गतिमा अगाडि बढाइने छ ।’
हालसम्म कति भयो काम ?
हालसम्म आयोजनाको ७० प्रतिशत भौतिक प्रगति भइसकेको छ । २०७२ सालमा शुरु भएको यस चाबहिल–साँखु विस्तार आयोजना अन्तर्गत हाल ३ खण्डमा काम बाँकी रहेको छ ।
बज्रगुरु/च्याङमिला/खानी जेभी अन्तर्गत २.४ किलोमिटर सडकमा ७० प्रतिशत भौतिक प्रगति भइसकेको छ । ६४.१३ प्रतिशत वित्तीय प्रगति भएको छ । २३ करोड ८ लाख ९८ हजार रुपैयाँ निर्माण खर्च छुट्याइएको थियो । आयोजनामा हालसम्म २५ करोड ८६ लाख ८७ हजार रुपैयाँ खर्च भइसकेको छ ।
बज्रगुरु/विरुवा/खानी जेभीले ३ किलोमिटर सडक विस्तारको जिम्मा लिएकोमा हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ । ५१.९४ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको कुल लागत २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । हालसम्म ३० करोड ९० लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ ।
बीटी/सुनकोशी/वल्र्डवाईड जेभीले २.४६ किलोमिटर सडक विस्तारको आयोजना ठेक्का लिएको थियो । सो आयोजना अन्तर्गत ७० प्रतिशत भौतिक प्रगति भएको छ । सो खण्डमा ६३.२४ प्रतिशत वित्तीय प्रगति भएको छ । उक्त खण्डका लागि २० करोड ३२ लाख ७८ हजार रुपैयाँ लागत खर्च तोकिएको थियो । हालसम्म सो खण्डमा २१ करोड ९७ लाख १९ हजार रुपैयाँ खर्च भइसकेको छ ।
युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरर्स प्रालिले ३.६ किलोमिटर सडकमा विस्तारको काम सकिसकेको छ । सो अन्तर्गत ३१ करोड ६४ लाख २३ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ खर्च भइसकेको छ ।
चालू आर्थिक वर्ष भित्र थलीका सडकहरु समेत कालोपत्र गर्ने भनिए पनि ठेक्का अवधि सकिए पछि म्याद थप नभएकाले कामले गति लिन सकेको छैन । काठमाडौं उपत्यका विस्तार आयोजनाका सूचना अधिकारी यादव भने चालू आर्थिक वर्षभित्रै चाबहिल–साँखु सडक कालोपत्र गरिने बताउँछन् ।
‘थलीमा सब–बेस हाल्ने काम अन्तिम चरणमा थियो, हाल ठेक्काको म्याद सकियो तर, ठेक्का म्याद थप भएपछि काम अघि बढ्ने छ, अहिले प्रकृयामा रहेको छ,’ यादवले चाणक्य पोष्टसँग भने ।
हालसम्म सडकमा कुल लगानीको ६५ प्रतिशत बढी रकम खर्च भएको छ । १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ लगानीमा बन्दै गरेको सो सडक खण्डमा हालसम्म ९७ करोड रुपैयाँ खर्च भइसकेको छ ।ठेकेदार कम्पनीले काम सके पछि पनि त्यसको १ वर्षसम्म सडक बिग्रे, भत्केको अवस्थामा ठेक्का कम्पनी आफैले बीना भुक्तानी मर्मत गर्नुपर्नेछ । सो सडकखण्ड निर्माणको जिम्मा ४ ठेकेदार कम्पनीले पाएका छन् । सो सडक कूल ११.६ किलोमिटर लम्बाइ रहेको छ ।
सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाइमा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । स्थानीयले सडक विस्तारका क्रममा घरहरु भत्काउन नदिएपछि यथास्थितिमा निर्माण गर्न लागिएको हो ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ ।