उपत्यकामा मात्रै बिदा हुँदा अरुलाई सेयर कारोबारमा बञ्चित गर्नु कति न्यायोचित ?

काठमाडौं । आज (आइतबार) घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द रहेको छ । यो सँगै उपत्यकामा मात्र सार्वजनिक बिदा हुँदा समग्र मुलुकभरका लगानीकर्ता नै प्रभावीत हुने गरी नेप्से किन बन्द गरिएको होला भन्ने प्रश्न पनि सार्वजनिक रुपमा उठ्न थालेको छ ।

 

वर्षभरिमा सरकारले तोकेको सार्वजनिक बिदा बाहेक पनि काठमाडौं उपत्यकामा दुईचार दिन थप बिदा हुने गरेको छ । तर यी सबै दिनमा समग्र मुलुकका लगानीकर्ताहरु सम्मिलित नेपालको एकमात्र सेयर बजार नेप्से पनि बन्द हुने गरेको छ ।

 

एकात्मक राज्य व्यवस्था हुँदा केन्द्रमा बिदा हुँदा यहाँ केन्द्रीय कार्यालय भएका संस्था र उसका क्रियाकलापहरु बन्द हुनु स्वभावीक नै हो भनेर तर्क गर्न सकिएला । तर अहिले नेपाल संघीय प्रणालीमा गइसकेको अवस्था हो । संघीय प्रणालीमा पनि केन्द्रिकृत राज्य व्यवस्थामा जस्तै क्रियाकलाप हुनु पक्कै पनि सुखद अवस्था होइन ।

 

हाल सेयर बजारका कुल लगानीकर्ताहरु मध्ये करिब ६० प्रतिशत मात्र काठमाडौं उपत्यकामा रहेका छन् । बाँकी ४० प्रतिशत लगानीकर्ता उपत्यका बाहिरका रहेको नेप्से स्रोत बताउँछ । यस हिसाबले वर्षमा केही दिन ४० प्रतिशत लगानीकर्ताको कारोवार गर्ने हक कुण्ठित भएको सहजै देख्न सकिन्छ । उनीहरुले नेपालले अंगीकार गरेको संघीयताको वास्तवीक उपभोग गर्न पाएका छैनन् ।

 

‘देशको एउटा क्षेत्रमा सार्वजनिक बिदा हुँदा समग्र देशकै लगानीकर्ताहरु सम्मिलित देशको एकमात्र सेयर बजार बन्द गर्नु पक्कै पनि राम्रो होइन । फेरि अहिले ९० प्रतिशतभन्दा धेरै कारोबार अनलाइनबाटै हुन्छ । यस्तो अवस्थामा समग्र बजार बन्द नगरे पनि हुने हो,’ सेयर ब्रोकर प्रियराज रेग्मी भन्छन् ।

 

देश संघीयतामा गएको आधा दशक बिते पनि नियामक निकायहरुमा केन्द्रीय राज्य संचालनको धङधङी रहनु लगानीकर्ताका लागि दुःखद रहेको झापाका सेयर लगानीकर्ता बाबु कँडेल बताउँछन् ।

 

‘काठमाडौंमा रहेको नेप्सेको कार्यालय मात्र बन्द हुँदा देशभरका लगानीकर्ता प्रभावित हुनु परेको छ ,’ उनले भने, ‘एउटा कार्यालय बन्द हुँदा देशभर किन कारोबार रोक्ने ? मुलुक संघीयतामा प्रवेश गरेको आधा दशक पुग्न लागिसक्यो । तर, सोचमा केन्द्रिकृत मानसिकता रहेको छ । यसको शिकार देशभरका सेयरलगानीकर्ता समेत भइरहेका छन् ।’ अहिले अधिकांश कारोबार अनलाइनबाटै हुने अवस्थामा काठमाडौंमा मात्र बिदा समग्र बजार बन्द गर्नु पुरातनवादी सोचाइको उपज रहेको उनको भनाइ छ ।

 

उपत्यकामा सार्वजनिक बिदा हुँदा उपत्यका बाहिरका लगानीकर्ता पनि कारोबार गर्नबाट बञ्चित हुनु परेको भन्दा लगानीकर्ताले आक्रोश समेत पोख्न थालेका छन् । उपत्यकाका ब्रोकर कार्यालय बन्द रहे पनि उपत्यका बाहिरका ब्रोकर शाखाबाट भने कारोबार हुने व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

 

यता, नेप्सेका प्रमुख कार्यकारी चन्द्र साउद भने क्यालेन्डरमै रातो लगाएर बिदा दिइएकाले बजार पनि बन्द गरेको बताउँछन् । ‘यसमा हामीले गर्न सक्ने केही छैन । क्यालेन्डरमै रातो लगाएर बिदा दिइएको छ । तर यो प्रश्नमा भविष्यको लागि भने छलफल गर्न सकिन्छ,’ उनले भने ।

 

उपत्यका बाहिर बसेर लगानी गरिरहेका सेयर लगानीकर्ताहरुलाई पनि यस्तो व्यवस्था उति जँचेको छैन । ‘हामी उपत्यका बाहिर बसेर काम गर्ने मान्छेहरुलाई उपत्यकामा हुने सार्वजनिक बिदा बारे उती जानकारी पनि हुँदैन । मैले पनि आज बिहान मात्र बजार बन्द रहेको जानकारी पाँए । हाम्रो यता सामान्य ढंगले काम चलिरहेको छ । बजार पनि बन्द नगरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ बुटवलमा बसेर सेयर बजारमा कारेबार गरिरहेका श्रवण ढुङ्गानाले भने ।

डिशहोमको खुसीको उडान, २ जनाले पाए बैंकक घुम्ने मौका Read Previous

डिशहोमको खुसीको उडान, २ जनाले पाए बैंकक घुम्ने मौका

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्दै, यी सडकको काम धमाधम हुँदै Read Next

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्दै, यी सडकको काम धमाधम हुँदै