घरजग्गा कारोबारमा हरेक महिना नयाँ रेकर्ड, यसकारण बढ्दै छ कारोबार

काठमाडौं । घरजग्गा कारोबारमा हरेक महिना नयाँ रेकर्ड कायम भएको छ । गत वर्ष कोरोनाका कारण सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय अर्थतन्त्र चलायमान भएसँगै गति लिन थालेको हो ।

 

चालू आर्थिक वर्षको फागुनसम्म कुल साढे ११ लाख बढी घरजग्गा सम्बन्धी कारोबार भएका छन् । सो अवधिमा घरजग्गा किनबेच, नामसारी, रोक्का, फुक्का लगायत गरी सो संख्यामा कारोबार भएको हो ।

 

चालू आवमा भदौमा सबैभन्दा कम ४ हजार ९८५ घरजग्गा किनबेच भएका थिए भने फागुनमा सबैभन्दा धेरै ७६ हजार ४९१ घरजग्गा किनबेच भएका छन् ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आवको फागुनसम्म कुल ११ लाख ६३ हजार ६७० वटा घरजग्गा सम्बन्धी कारोबार भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९७ हजार ५२७ वटाले बढी हो । गत वर्षको फागुनसम्म १० लाख ६६ हजार १४३ वटा घरजग्गा सम्बन्धी कारोबार भएको थियो ।

 

चालू आवको साउन यता हरेक महिना घरजग्गा कारोबारमा नयाँ रेकर्ड बन्दै गएको हो । साउनमा कुल ५८ हजार घरजग्गा कारोबार भएका थिए । जसमा ३७ हजार ९७० वटा किनबेच भएका थिए । फागुनसम्म आइपुग्दा  त्यो संख्या ४ गुणाभन्दा धेरैले बढेको छ ।

 

 

साउनको तुलनामा भदौमा घरजग्गा कारोबार सुस्त देखिए पनि त्यसयता भने हरेक महिना कारोबार बढ्दै गएको छ । भदौमा कुल ५५ हजार १५८ घरजग्गा सम्बन्धी काम भएका थिए । जसमध्ये १४ हजार ९८५ घरजग्गा किनबेच भएका थिए भने १८ हजार ७७९ घरजग्गा रोक्का, ११ हजार ५९९ घरजग्गा फुकुवा गरिएको थियो । सो महिनामा २ वटा मात्र अपार्टमेन्ट किनबेच भएको थियो ।

 

यसैगरी, असोजमा १ लाख ४ हजार ९२८ घरजग्गा कारोबार भएका थिए । सो महिनामा ३६ हजार ४३६ घरजग्गा रोक्का, १८ हजार ११८ फुकुवा र ३६ हजार ६८९ घरजग्गा किनबेच भएका थिए । सो महिना १० वटा मात्र अपार्टमेन्ट कारोबार भएको थियो ।

 

कात्तिकमा पनि १ लाखभन्दा बढी घरजग्गा सम्बन्धी काम भएका छन् । विभागका अनुसार यस महिना १ लाख ४ हजार ९२८ वटा घरजग्गा कारोबार भएको थियो । जसमा ३६ हजार ३३६ घरजग्गा रोक्का, १८ हजार ११८ फुकुवा र २६ हजार ६८९ घरजग्गा किनबेच भएका छन् ।

 

यसैगरी, मंसिरमा १ लाख ६८ हजार ६ घरजग्गा सम्बन्धी काम भएको थियो । यो महिना ५३ हजार २८१ घरजग्गा रोक्का, ३२ हजार २६० फुकुवा र ६१ हजार ४५१ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ ।

 

पुस महिनामा कुल २ लाख १४ हजार ४६० घरजग्गा सम्बन्धी काम भएका छन् । सो मध्ये ६९ हजार १८२ घरजग्गा रोक्का, ४० हजार २६५ फुकुवा र ७६ हजार ५३२ वटा घरजग्गा खरिद विक्री भएका छन् । गरिएका छ । यो महिना ७१ अपार्टमेन्ट कारोबार भएका छन् ।

 

यसैगरी, माघमा कुल २ लाख ११ हजार ९०८ घरजग्गा सम्बन्धी कारोबार भएका छन् । सोमध्ये ७६ हजार ४९१ घरजग्गा किनबेच भएका छन् । फागुनमा देशभर कुल २ लाख १४ हजार ४९१ घरजग्गा कारोबार भएका छन् । सोमध्ये ७६ हजार ४९१ वटा किनबेच भएका छन् ।

 

दैनिक १७०० घरजग्गा किनबेच

 

चालू आवको फागुनसम्म रोक्का, फुक्का, नामसारी, किनबेच गरी कुल साढे ११ लाख बढी घरजग्गा कारोबार भएको छन् । सोमध्ये ८ महिनाको अवधिमा ४ लाख ७ हजार ९५ घरजग्गा किनबेच भएका छन् ।

 

यस आधारमा ८ महिनाको अवधिमा औसतमा दैनिक १७०० घरजग्गा किनबेच भएका छन् । चालू आवमा भदौमा सबैभन्दा कम ४ हजार ९८५ घरजग्गा किनबेच भएका थिए भने फागुनमा सबैभन्दा धेरै ७६ हजार ४९१ घरजग्गा किनबेच भएका छन् ।

 

चालू आर्थिक वर्षमा घरजग्गा सम्बन्धी कारोबारबाट ३७ अर्ब ९८ करोड ४५ लाख ४१ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । उक्त कर रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क, वाग्मती सभ्यता शुल्क, पूँजीगत लाभकर लगायत शिर्षकमा संकलन भएको हो ।

 

किन बढ्दै छ कारोबार ?

 

घरजग्गाको कारोबार बढ्नुको मुख्य कारण कोरोनाले शिथिल भएको अर्थतन्त्र क्रमशः चलायमान हुनु नै हो । कोरोनाले बन्द भएका उद्योगधन्दा, व्यवसाय पछिल्लो समयमा संचालनमा आउँदा मानिसको आयआर्जनमा वृद्धि हुँदै गएको छ ।

 

विश्वव्यापी रुपमा कोरोनाको खोप आइसकेको र नेपालमा समेत लगाउन थालिसकिएकाले मानिसहरु आशावादी हुँदै गएका छन् । सबै किसिमको व्यापार व्यवसायले गति लिँदै गर्दा मानिसहरु व्यापार व्यवसायबाट कमाएको पैसा घरजग्गामा लगानी गर्न थालेका छन् । जसले हरेक महिना कारोबार बढ्दै गएको हो ।

 

कोरोनाको त्राास कायमै रहेकाले मानिसहरुले अन्य क्षेत्रको भन्दा घरजग्गामा गरेको लगानी सुरक्षित हुने देखेपछि पनि यसको कारोबार बढ्न पुगेको हो ।

 

यसैगरी, पछिल्लो समय बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । अहिले सहजै र सस्तो ब्याजदरमा ऋण पाइने भएकाले नियमित आम्दानी भएका मान्छेहरु ब्याज सस्तो भएको मौका छोपी घरजग्गा जोड्न थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको छ ।

 

यस्तै, पछिल्लो समय सेयर बजारले इतिहास सर्वाधिक विन्दुमा पुगेको छ । सेयर बजारबाट कमाएका व्यक्तिहरु आफ्नो कमाइ सुरक्षित गर्न घरजग्गामा लगानी गर्न थालेका छन् । सेयर बजारबाट कमाएको पैसा घरजग्गामा डाइभर्ट हुन थालेकाले यसको कारोबार बढेको जानकारहरु बताउँछन् ।

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले आइपीओ जारी गर्ने Read Previous

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले आइपीओ जारी गर्ने

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन Read Next

शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन