नेप्सेले फेरि बनायो अलटाइम हाइको रेकर्ड, अपर तामाकोशीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारले फेरि इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । आइतबार इतिहासकै उच्च विन्दुको कीर्तिमान बनाएको नेप्सेले उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो ।

 

नेप्सले २६५८ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि आइतबार नेप्से इतिहासकै सर्वाधिक २६५७.६१ विन्दुको रेकर्ड बनाएको थियो ।

 

सूचकमा नयाँ रेकर्ड बनाए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७० करोड रुपैयाँले घटेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ७ अर्ब २९ करोड ६७ लाख ५६ हजार १५६ रुपैयाँ बराबरको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १३२.६५ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै १०६.६१ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१२ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ४७ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा आइएमई जनरल इन्स्योरेन्स ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

झिनो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी माइक्रोफाइनान्स, एनआइसी एशिया लघुवित्त, राधि विद्यत् कम्पनी र आइएमई जनरल इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज गोर्खाज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.१२ प्रतिशत गुमाएका छन् ।

मनकामना केबलकार ६ दिन बन्द हुने Read Previous

मनकामना केबलकार ६ दिन बन्द हुने

अब काठमाडौं उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य Read Next

अब काठमाडौं उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य