आन्तरिक पर्यटकले धानेको सुकुटेको पर्यटन,  खानाबस्न र र्‍याफ्टिङ गर्न कति लाग्छ खर्च ?
चाणक्य पोष्ट
प्रकाशित : 12:44 pm, सोमबार, चैत २३, २०७७

काठमाडौं । कोभिड १९ को संक्रमणपछि आन्तरिक र बाह्रय पर्यटनमा निकै सुस्तता आएको छ । विशेषगरी आन्तरिक पर्यटनको गन्तव्यमा दशैंपछि राम्रै चहलपहल देखिएको थियो । पुनः कोभिडको प्रकोप बढ्ने चिन्तासँगै यस्ता गन्तव्य के होलान् भन्ने चिन्ता व्यवसायीमा बढ्न थालेको छ ।

 

उपत्यकाबाट करिब ६५ किलोमिटरको हाराहारीमा रहेको सिन्धुपाल्चोकको सुकुटे एरियामा गर्मी बढेसँगै घुम्न जाने मानिसहरू बढेको त्यहाँका व्यवसायीहरूको भनाइ छ । होली अगाडिसम्म चिसो मौसम रहेकाले सुकुटे एरियामा कमै मानिस जाने गरेको भएपनि होलीपछि चहलपहल बढेको हो ।

 

‘यहाँ आउने पर्यटकको मुख्य लक्ष्य र्‍याफ्टिङ हो । गर्मी बढेसँगै र्‍याफ्टिङको लागि आउनेको संख्या बढेको छ । हामीले पनि कोभिडको असर न्यूनीकरण गर्न सुरक्षा मापदण्डलाई विशेष रूपमा अपनाएर पाहुना राख्ने व्यवस्था गरेका छौं’, सुनकोशी विच रिसोर्टका संचालक सुनिल पाठकले भने ।

पाठकका अनुसार सुकुटे क्षेत्र काठमाडौंबाट नजिक दूरीमा भएको र पानीमा खेल्न रुचाउनेहरूको लागि प्रमुख गन्तव्य भएकाले शुक्रबार र शनिबार राम्रै संख्यामा घुम्न आउने मानिसहरू रहेका छन् ।

 

सुकुटे एरियमा घुम्नजाने धेरै मानिसहरू र्‍याफ्टिङ मनपराउने भएकाले यी क्षेत्रमा खुलेका रिसोर्टहरूले विचको अनुभव प्रदान गर्दै आएका छन् । केही रिसोर्टहरूले एसीसहितका रुमहरूको पनि व्यवस्था गरेकाले यो क्षेत्रमा सबै किसिमका पर्यटक बस्न मिल्ने अवस्था सृजना भएको छ ।

 

केही वर्षअघिसम्म टेन्टमा मात्रै बस्नु पर्ने अवस्था रहेकाले यूवाहरू मात्रै सुकुटे पुग्थे । अहिले होटलहरूको संख्यामा भएको वृद्धि र पुराना होटलहरूले पनि आफ्नो स्तरवृद्धि गरेकाले यहाँ गएर रमाइलो गर्नेलाई सहज भएको छ ।

यस एरियामा रहेका स्यान्डी विच, सुकुटे एड्भेन्चर, सुकुटे विच, सुनकोशी विचहरूले आफ्नो सेवालाई निकै राम्रो बनाउँदै लगेको देखिन्छ । साथै अन्य होटलहरूले पनि पहिलेको तुलनामा निकै राम्रो सेवा प्रदान गरिरहेका छन् ।

 

‘प्रतिस्पर्धाले गुणस्तर बढाउँछ भन्ने कुरालाई यहाँ खुलेका रिसोर्टहरूले पुष्टि गर्छ । यहाँ आउने पर्यटकको अपेक्षालाई यहाँका होटल र विचहरूले केही हदसम्म पूरा गरेका छन् । यद्यपि यहाँ खानाको लिमिटेड मेनु हुने भएकाले केहीलाई समस्या पनि हुन सक्छ’, पाठकले चाणक्य पोष्टसँग भने ।

 

कति लाग्छ खर्च ?

 

सुकुटे एरियामा खुलेका विच रिसोर्टहरूले प्याकेज बनाएर पर्यटक तान्दै आएका छन् । यहाँ एक जनालाई बेलुकाको डिनर, बिहानको ब्रेकफाष्ट र लञ्च दिनेगरी प्याकेज निर्माण भएका छन् । यसरी बनाइएको प्याकेजमा ग्राहकले र्‍याफ्टिङ र पेय पदार्थ पाउने छैनन् ।

सामान्यतः  १ हजार ५०० रूपैयाँबाट शुरू हुने प्याकेज एसी रुममा पुग्दा ३ हजार ५०० सम्म लाग्छ । औषतमा २ हजारदेखि २ हजार ५०० मा स्तरीय ठाउँमा बस्न र खान पाउने भएकाले यहाँको बसाइमा धेरैले गुनासो नगर्ने व्यवसायीहरूको भनाइ छ ।

 

र्‍याफ्टिङको छुट्टै खर्च

 

यो एरियामा खुलेका सबै होटल, रिसोर्ट र विच रिसोर्टहरूले र्‍याफ्टिङ गराउँदै आएका छन् । यहाँ जाने सबैको लक्ष्य र्‍याफ्टिङ नै हुने भएकाले उनीहरूले र्‍याफ्टिङको अलग्गै खर्च लिने गरेका छन् । करिब २ घन्टा हुने र्‍याफ्टिङमा एक जनाले १२ सयदेखि १५ सयसम्म तिर्नु पर्ने हुन्छ ।

 

समग्रमा एकजनाको ४ हजार रूपैयाँमा खान, बस्न र र्‍याफ्टिङको मज्जा लिन पाइने भएकैले यो क्षेत्रमा उपत्यकाबाट छुट्टी मनाउन जाने धेरै मानिस भेटिन्छन् ।