मेलम्ची आएसँगै पानीको मूल्य बढ्ने सम्भावना
चाणक्य पोष्ट
प्रकाशित : 1:49 pm, आइतबार, चैत २२, २०७७

काठमाडौं । करिब ३ दशकको प्रतिक्षापछि उपत्यकामा मेलम्चीको पानी आएको छ । पछिल्लो केही दिनयता काठमाडौंमा मेलम्ची पानी वितरण परीक्षणको काम भइरहेको छ । हालसम्म महाँकाल अनामनगर, बानेश्वर, महाराजगंज, पानीपोखरी, बालाजु लगायतका स्थानमा पानी वितरण परीक्षण भइसकेको छ  भने अन्य स्थानमा पनि धमाधम परीक्षण भइरहेको छ ।

 

आगामी वैशाख १ गतेबाट मेलम्ची खानेपानी एकै साथ सबै ठाउँबाट औपचारिक रूपमा वितरण गरिने जनाइएको छ । एकै साथ मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने तयारी रहेको हो ।

 

तर, मेलम्चीको पानी वितरण शुरु भए पछि मूल्यसमेत बढ्न सक्ने जनाइएको छ । विगत १० वर्षदेखि पानीको मूल्य एउटै रहेकाले मेलम्चीको पानीवितरणपछि भने मूल्य पनि बढ्न सक्ने काठमाडौं खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।

 

तत्कालै पानीको मूल्य वृद्धि गर्ने योजना नरहे पनि पनि १० वर्षदेखि पानीको मूल्यमा कुनै वृद्धि नभएकाले वृद्धि हुन सक्ने केयूकेएलका प्रवक्ता प्रकास कुमार राई बताउँछन् ।

 

‘१० वर्ष यता खानेपानीको मूल्य बढेको छैन, लगानी बढेका कारण बढाउन पनि सकिन्छ, तर अहिलेसम्म यस्तो प्रस्ताव गएको छैन, छलफल मात्र भएको हुनाले नबढ्न पनि सक्छ,’ राईले चाणक्य पोष्टसँग भने ।हाल उपभोक्ताले मासिक न्यूनतम १० हजार लिटरसम्म पानी प्रयोग गरे बापत १०० रुपैयाँ तिर्दै आएका छन् ।

 

उनले मूल्यको हिसाबले भने अब पानीको मूल्य बढाउनु पर्ने समय आएको बताए । काठमाण्डूको उत्तरपूर्वमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोलाको पानीलाई लामो सुरुङमा पठाएर त्यसलाई सुन्दरीजलमा झारिएको छ । सुन्दरीजलमा ठूलो अनि उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका पोखरीमा जम्मा गरेर मेलम्चीको पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरण गरिँदैछ ।

 

अहिले दैनिक ८.५ करोड लिटर पानी वितरण भइरहेको र चाँडै पूर्ण क्षमतानुरूप १७ करोड लिटर पानी वितरण गरिने छ । मेलम्ची आयोजना सुरु भएको करिब २२ वर्षमा मेलम्चीको पानी घरघरमा वितरण परिक्षण भएको छ ।

 

कुल आयोजना निर्माण खर्च ३१२ मिलियन अमेरिकी डलर अर्थात् नेपाली ३५ अर्ब रूपैयाँभन्दा धेरै रहेको छ । यसमा नेपाल सरकारको कुल खर्चको एक तिहाइ रहेको छ भने एशियाली विकास बैंकको लगानी कुल खर्चको झन्डै आधा अथवा ४६ प्रतिशत रहेको छ ।

 

आयोजना अन्तर्गत मुआब्जा खर्च आर्थिक वर्ष २०७५/७६ सम्ममा कुल १ अर्ब १२ करोड रूपैयाँ रहेको थियो । सामाजिक उत्थानको खर्च झन्डै ९५ करोड रूपैयाँ रहेको थियो ।