उपत्यकामा २५ लाख मै बन्छ डेढ तल्ले घर

काठमाडौं । संसारभरिका मानिसको आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास नै हो । आम्दानीको हैसियत जस्तो सुकै भएपनि आफ्नै सानो घर, मिठो मसिनो खाना र दुई–चार जोर लुगा आम मानिसको सपना नै हो ।

 

सामान्यत घर बनाउनका लागि जग्गा किन्न र घर बनाउन दुवै उल्लेख्य खर्च लाग्छ । कतिपय मानिसहरुको जग्गा त हुन्छ तर, घर बनाउन मूल्य कति लाग्ने होला भन्ने विषयले नै पिरोल्ने गरेको हुन्छ ।

 

अरुले महङ्गोमा घर बनाएको सुन्दा मानिसहरु हतोत्साहित हुने अवस्था पनि हुने गर्छ । तर, सुझबुझ पूर्ण ढंगले सानो घर बनाउँदा कम खर्चमै पनि बनाउन सकिन्छ ।

 

हामीले सामान्य क्षेत्रफल भएको जग्गामा घर निर्माण गर्दा न्यूनतम कति रकम लाग्छ भनेर केही घर निर्माण कम्पनीहरुसँग परामर्श लिएका छौँ । यसले तपाईंलाई घर बनाउँदा अनुमानीत खर्च जोहो गर्न सजिलो बनाउने छ । र, आत्मविश्वास पनि दिलाउने छ ।

 

काठमाडौं उपत्यकामा सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा तलमाथी गराउँछ । तर, किफायती ढंगले सामान्य घर बनाउँदा सिमेन्ट र इट्टाको मूल्य बढीरहेको भए पनि पनि करिब २५ लाख रुपैंयाँले डेढ तल्लाको साधारण र चिटिक्क परेको घर काठमाण्डौं मै बनाउन सकिन्छ ।

 

के भन्छन्व व्यवसायीक निर्माणकर्ताहरु ?

 

सगरमाथा लिङ्क इन्जिनियरिङ सोलुसन कम्पनीका कार्यकारी निर्देशक विनोद बस्नेतका अनुसार उपत्यकामा डेढ तल्ला घर निर्माण गर्दा न्यूनतम २५ लाख रुपैयाँसम्ममा निर्माण गर्न सकिन्छ ।

 

सो रकममा ३ देखि ४ आना जग्गामा ‘फिनिसिङ’ सहितको राम्रो गुणस्तरको घर निर्माण गर्न सकिने उनले बताए । पछिल्लो समय घर निर्माण गर्दा २० फुटको जग्गा सडकका लागि अनिवार्य छोड्नु पर्ने र भूकम्प प्रतिरोधात्मक मापदण्डको आधारमा घर निर्माण गर्नु पर्ने उनले बताए ।

 

यो घर आन्तरिक सजावट बाहेकको २५ लाख रुपैयाँमा निर्माण हुन्छ भने यदि तपाई आन्तरिक सजावट सहितको घर काठमाडौंमै बनाउँन चाहनुहुन्छ भने ४२ लाख रुपैयाँको हाराहारीमा बन्ने बस्नेतले जानकारी दिए ।

 

‘तपाई सामान्य घर बनाउन चाहानु हुन्छ भने डेढ तल्लासम्मको घर २५ लाख रुपैयाँको हाराहारीमा निर्माण गर्न सकिन्छ, यो रकममा एउटा राम्रो गुणस्तरीय घर तपाइले बनाउन सक्नु हुन्छ,’ इन्जिनीयर बस्नेतले चाणक्य पोष्टसँग भने ।

 

उनले भूकम्प प्रतिरोधात्मक घर ‘डबल टाईडिङ स्ट्रक्चर’को घर निर्माण गर्न यति रकम पर्याप्त हुने दाबी गरे । उनले इट्टा, बालुवा र रडको मूल्य बढे पनि २० देखि २५ लाख रुपैयाँले सजिलै इन्जिनियरको मातहतमा घर बनाउन सकिने बताए । यस्तै ‘डबल टाइडिङमा’ बढि रकम लाग्ने भएकाले त्यसको खर्च न्यूनतम ३ देखि ५ लाख रुपैयाँ लाग्ने गर्छ ।

 

प्रदेश ३ इन्जिनीयर एसोसिएसनका सदस्य इन्जिनीयर सुजन गौतम भने पछिल्लो समय प्रतिवर्ग फिट ३ देखि ४ हजार रुपैयाँ लागत लाग्ने बताउँछन् । उनले त्यस अनुसार ६ सय देखि ७ सय वर्ग फिटमा घर निर्माण गर्दा २४ लाख देखि २८ लाख रुपैयाँ हाराहारी खर्च हुने बताए ।

 

‘घर निर्माण गर्दा चाहिने निर्माण सामाग्री हो, त्यो जति कम पर्यो त्यती सस्तो हुने हो,’ इन्जिनीयर गौतमले चाणक्य पोष्टसँग भने । यस्तै, ग्रीन डिजाइन कन्सलटेन्टलेका अनुसार उपत्यका बाहिर न्यूनतम ३५ लाख रुपैयाँदेखि पूर्णआन्तरिक सजावट सहित घर निर्माण गर्न सकिन्छ ।

 

सो कम्पनीले न्यूनतम ३ आना जग्गामा ६ सय वर्ग फिटमा घर निर्माण गर्दा घरको फिनिसिङ सहित माथी उल्लेखित मूल्यमा घर निर्माण गर्न सकिने जनाएको छ ।

 

 

‘मान्छेले एक पटक बनाउने घर गुणस्तरीय नै बनाउन चाहन्छ, त्यस्तो अवस्थामा एउटा कन्सल्टेन्ट राखेर घर निर्माण गर्नेगर्दा सजिलो हुन्छ,’ कम्पनीका अधिकारीले चाणक्य पोष्टसँग भनिन् । उनले मध्यम गुणस्तरको घर बनाउनु पर्दा प्रति वर्ग फिट ३३ सय रुपैयाँ पर्न जाने बताइन् ।

 

यस्तै गुणस्तरीय घर निर्माण गर्दा प्रति स्क्वायर फिट ५ हजार देखि ४२ हजार रुपैयाँ लाग्ने उनले बताइन् । साथै कन्सल्टेन्ट बाटै नक्सा पास तथा डिजाइन गर्न चाहेमा ४० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ सम्ममा यो काम कन्सल्टेन्ट आफैंले गरिदिने उनले जानकारी दिइन् । कम्पनीले आन्तरिक सजावटका लागि भने डिजाइन अनुसार छुट्टै रकम लिने बताइन् ।

 

निर्माण सामाग्रीको मूल्य

 

हाल ईट्टाको मूल्य ठाँउ अनुसार फरक–फरक पर्ने गरेको छ । पूर्वका उद्योगहरुको उत्पादन प्रति गोटा १८ देखि १९ रुपैयाँ पर्छ भने उपत्यकामा २० देखि २४ रुपैयाँसम्म पर्ने गरेको छ ।

 

नेपालमा माग र आपूर्तिका आधारमा रडको मूल्य तलमाथि हुने गरेको पाइन्छ । हाल बजारमा ३० ‘एमएम टीएमटी’ रडको मूल्य औसतमा प्रतिकिलोग्राम ९८ रुपैयाँ रहेको छ ।

 

हाल नेपाली बजारमा ५३ ग्रेडको ५० किलो वजन भएको सिमेन्टको मूल्य ६ सय ५० देखि ८ सय २५ रुपैयाँसम्म रहेको छ । बालुवा प्रतिटिप्पर २५ देखि ३० हजार रुपैयाँ पर्छ । एक टिप्परमा ८ घनमिटर बालुवा हुने गर्छ ।

 

यस्तै, गिट्टीको मूल्य हाल प्रतिटिप्पर २० हजार रुपैयाँ रहेको छ । कालो रोडा २८ हजार प्रतिटिप्पर रहेको छ । माटोको मूल्य २५ सय रुपैयाँ प्रतिटिप्पर रहेको छ भने बालुवा प्रति टिप्पर २२ हजार देखि २६ हजार रुपैंयाँसम्ममा पाइने गरेको छ ।

सामसङको नोट टेन यही महिना बजारमा आउँदै, यस्ता छन् विशेषता Read Previous

सामसङको नोट टेन यही महिना बजारमा आउँदै, यस्ता छन् विशेषता

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्दै Read Next

राष्ट्र बैंकले १० करोडको ट्रेजरी बिल जारी गर्दै