काठमाडौंका सडक डम्पिङ साइट बन्दै, फाल्ने ठाउँ नहुँदा महानगरले उठाउनै छाड्यो फोहोर

काठमाडौँ । एकसातादेखि काठमाडौं महानगरपालिकाले फोहोर नउठाउँदा सडकमै फोहोरको थुप्रो लाग्न थालेको छ । फोहोर व्यवस्थापन क्षेत्र (ल्याण्डफिल साइट)का वासिन्दाले अवरोध गरेपछि महानगरले नउठाउँदा सडकमै फोहोरको डंगुर लाग्न थालेको हो ।

 

हप्तादिन कुर्दा पनि महानगर फोहोर उठाउन नआएपछि काठमाडौंवासीले सडकमै फोहोर थुप्रान थालेका छन् । यसले एकातिर सवारी आवातजावतमा समेत असर पारेको छ भने अर्कोतिर वातावरण प्रदूषण हुँदै गएको छ ।

 

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा-२ सिसडोलस्थित ल्याण्डफिल्ड साइटका प्रभावित बासिन्दाले विभिन्न माग राखी फोहोर व्यवस्थापन कार्यमा २०७७ चैत १३ देखि अवरोध गरेको काठमाडौं महानगरपालिका वातावरण प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

 

उनले प्रभावित स्थानीय बासिन्दाको माग सम्बन्धमा काठमाडौँ महानगरपालिकाले नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेको दाबी गरे । तर, हालसम्म स्थानीय वासिन्दा वार्तामा आउन तयार भएका छैनन् ।

 

‘सिसडोलबासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेका छौँ । यसलाई सकारात्मक रुपमा लिएर सहयोग हुने हाम्रो अपेक्षा हो । यदि निरन्तर अवरोध भयो भने हामीले फोहोर विसर्जन कार्यका लागि थप कदम चाल्नुपर्ने हुनसक्छ ।’

 

फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहोर लैजान अवरोध गरेको छ ।

 

महानगरले प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न समेत आग्रह गरेको छ । उत्पादकहरुलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारकोलाई फोहोर संकलन गर्ने गाडी आएरपछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।

 

अहिले साइटमा फोहोर लैजान सक्ने अवस्था नरहेकोले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले निर्देशन दिएको छ । वर्गीकरण गरिएकोमध्ये कुहिने फोहोरलाई आफैले व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि घरमै राख्न तथा संकलन गर्ने गाडी आएपछि मात्र बाहिर निकाल्न श्रेष्ठले आग्रह गरेका छन् ।

 

सिसडोलको विकल्पको रुपमा बञ्चरेडाँडालाई डम्पिङसाइट तयार गर्ने क्रममा भए पनि हालसम्म केही हुन सकेको छैन । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटको काम अझै पूरा हुन नसकेको हो । मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्नेगरी काम सक्ने भनिएको बञ्चरे डाँडामा १ दशक अघि जग्गा अधिग्रहण गरिएको थियो ।

 

अहिलेसम्म बञ्चरे डाँडामा ल्याण्डफिल्ड जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको छ ।

 

अब फोहोर विसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी रहेको छ । १३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भइरहेको थियो । दैनिक १ हजार १०० मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७०० मेट्रिक टन फोहर विसर्जन भइरहेको छ ।

 

वि.सं.२०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गर्न १ हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

 

उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दिर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।

 

जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै ३ वर्षभित्र बञ्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशक अघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।

नेप्सेको टीएमएस किन आउँछ सधैं समस्या, चलखेल कि प्राविधिक समस्या ? Read Previous

नेप्सेको टीएमएस किन आउँछ सधैं समस्या, चलखेल कि प्राविधिक समस्या ?

बैंक अफ काठमाण्डूद्वारा प्रिपेड डलर कार्ड दिन शुरू Read Next

बैंक अफ काठमाण्डूद्वारा प्रिपेड डलर कार्ड दिन शुरू