काठमाडौं । नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घले (एनआरएनए) एनआरएन डेभलपमेन्ट फन्ड दर्ता गराएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त फण्ड चैत १७ गते दर्ता भएको हो । १० अर्ब रुपैयाँको फण्डमा सरकारको ५ प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानी रहने छ ।
यस्तै संस्थापककोतर्फबाट एनआरएनले १० प्रतिशत अर्थात् १ अर्ब रूपैयाँ लगानी गर्ने छ भने विश्वभर छरिएर रहेका नेपालीको ८५ प्रतिशत अर्थात साढे ८ अर्ब लगानी रहनेछ ।
गैरआवासीय नेपालीलाई छिट्टै साढे ८ अर्ब बराबरको प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने संघले जनाएको छ । जसमा विश्वभरका गैर आवासीय नेपालीहरुले लगानी गर्न पाउने छन् । नेपालीले उक्त फण्डमा न्यूनतम १० डलरदेखि लगानी गर्न पाउनेछन् ।
दर्ता प्रक्रिया सकिएसँगै आवश्यक प्रक्रिया पूरा चाँडै नै आइपीओ जारी गरिने जनाइएको छ ।