नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण धमाधम हुँदै, ३२६ मिटर खनियो

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिएको छ । औपचारिक रूपमा सुरुङ खन्न शुरू गरिएको ४ महिनाको अवधिमा कुल ३२६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

 

हालसम्म काठमाडौंतर्फ १३९ मिटर र धादिङतर्फ १८७ मिटर सुरुङ खनिएको आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंतर्फको १३९ मिटरमध्ये ४९ मिटर मुख्य सुरुङ र ९० मिटर आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) खनिएको छ ।

 

४ महिनाको अवधिमा कुल ३२६ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । हालसम्म काठमाडौंतर्फ १३९ मिटर र धादिङतर्फ १८७ मिटर सुरुङ खनिएको छ ।

 

धादिङतर्फ हालसम्म १८७ मिटर मध्ये १६२ मिटर स्केप्ट टनेल खनिएको छ । १५ मिटर मुख्य सुरुङ खनिसकिएको छ भने थप ७ मटिरमा मुख्य टनेल खन्ने काम भइरहेको इन्जिीनीयर अधिकारीले बताइन् ।

 

उनका अनुसार १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित दुई सिफ्टमा काम भइरहेको छ । उनले दिन र रातमा गरेर ४÷४ घण्टाको ओभरटाइम सहित सुरुङ निर्माणको कामलाई तीव्रता दिइएको छ ।

 

उनले दुवैतर्फ २४ घण्टा काम भइरहेको बताइन् । ‘२४ घण्टा काम भइरहेको छ, सक्दो समयमै सक्ने गरी काम गरिरहेका छौँ,’ उनले चाणक्य पोष्टसँग भनिन् । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ४०० जनशक्ति खटाई २४ घण्टा काम गरिरहेका हो ।

 

उनले वातावरण तथा स्थानीयलाई ध्यानमा राखी साउण्डप्रुफ हालेर काम भइरहेको बताइन् । धादिङतर्फ भने आपतकालीन उद्धार (स्केप्ट टनेल) सुरुङको कामअघि बढाइएको हो । स्केप टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी निर्माण गरिँदै छ । मुख्य सुरुङबाट ३० मिटरको दूरी (चौडाइ) मा हुने गरी स्केप टनेल खनिएको छ । यसरी समानान्तर हुने गरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले मुख्य सुरुङसँग जोड्छ ।

 

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई व्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।

 

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

सुरुङ निर्माणका लागि कुल ९०० टन विष्फोटक पदार्थ आवश्यक पर्नेछ । सो मध्ये ३०० टन आयातका क्रममा रहेको छ । सबै विष्फोटक पदार्थ सेनाको नियन्त्रणमा आवश्यकता अनुसार मगाइने उनले बताइन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १६ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

 

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ ।

महालक्ष्मी विकास बैंकको लाभांश पारित Read Previous

महालक्ष्मी विकास बैंकको लाभांश पारित

काठमाडौंका धारामा मेलम्चीको पानी, पहिलो चरणमा यी ठाउँमा हुँदैछ वितरण Read Next

काठमाडौंका धारामा मेलम्चीको पानी, पहिलो चरणमा यी ठाउँमा हुँदैछ वितरण