भदौ १ गतेबाट दूधको मूल्य बढ्ने

काठमाडौं । भदौबाट दूधको मूल्य बढ्ने भएको छ । दूधको उत्पादन कम भएको भन्दै नेपाल डेरी एसोशिएसनले दूधको मूल्य बढाउन माग गरेको छ ।

 

एसोशिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भदौ १ गतेबाट दूधको मूल्य समायोजन गरिने बताएका छन् । उनले दूधको मूल्य प्रति लिटर १० रुपैयाँ वृद्धि गर्न माग गरिएको बताएका छन् ।

 

हाल दूधको उत्पादनमा कमी आएको भन्दै मूल्य वृद्धि गर्न माग गरिएको उनले बताए ।‘मिल्क होलीडेको समयमा बढी उत्पादन हुन्थ्यो त्यसैले दूध आयातमा रोक लगाइयो, अब दूध उत्पादनमा कमी भएकाले दूधको मूल्य बढाउनु पर्छ,’ अध्यक्ष सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

उनले चाडपर्वको समयमा दूधको खपत बढी हुने भएकाले उत्पादन कमी हुँदा पाउडर दूधको आयात समेत गराउनु पर्ने अवस्था सृजना भएको बताए ।

 

यस्तै सरकारले भने बारम्बार दूध आयात नखुलाउने बताउँदै आएको छ । कृषिमन्त्री चक्रपाणी खनालले विगतको समयमा समेत झोल दूध आयात गर्नु पर्ने अवस्था आए पनि पाउडर दूध भने आयात नगरिने बताएका थिए ।

 

अध्यक्ष सापकोटले भने ‘हामीले पहिलै मन्त्रीज्यूलाई भनेका थियौं आयातको सिजन आउछ, दूध उत्पादन कमी हुँदा आयात खुल्ला गर्नु पर्छ, त्यसै अनुसार हामीले फेरी पाउडर दूध भए पनि आयात गर्नु पर्ने भएको छ ।’

 

उनले पछिल्लो साउन १५ गतेदेखि दूधको अभावका कारण कतिपय दूध व्यवसायहरु बन्द हुन पुगेको बताए । दूध व्यवसायमा २५ देखि ३० प्रतिशतसम्मको सप्लाइमा कमी आएको उनले जानकारी दिए ।‘डिमाण्ड बढेको छ बच्ने दूध भएन भने उद्योग कसरी चल्छ ?’ सापकोटाले भने ।

 

उनले विभिन्न क्षेत्रले पाउडर दूध आयात रोक्नका लागि कृषि मन्त्रीलाई भड्काएको समेत आरोप लगाएका छन् । सरकार र डेरी एसोशिएसन बीच मिल्क होलीडेका क्रममा मात्र आयात रोक लगाउने सम्झौता भएको उनले बताए ।

 

केन्द्रीय दूग्ध सहकारी संस्थानका अध्यक्ष नारायण प्रशाद देवकोटाले गत वर्ष पाउडर दूध बढी आयात भएकाले मिल्क होलीडे भएको तर, यो पटक दूधको अभाव भएको बताए । उनका अनुसार पाउडर दूध आयात गर्नुको सट्टा दूध संकलनको क्षेत्र बढाउन आवश्यक रहेको छ ।

 

उनले दूध सधैं ल्याउने क्षेत्रबाट मात्र दूध संकलन गरिने तर, अन्य दूध उत्पादन क्षेत्रलाई व्यवस्था गरिने प्रविधिले दूध उत्पादनमा ह्रास आउने गरेको बताए । ‘सुदुरपश्चिम, मध्य पश्चिम, सुदूरपूर्व लगायतका क्षेत्रबाट दूध संकलन बढाउनु पर्यो दूधमा आत्मनिर्भर बन्ने अनि पाउडर दूध ल्याउँदै मिल्क होलीडे मनाउने गर्नु भएन,’ देवकोटाले भने ।

 

यस्तै उनले ३ वर्ष यता दूधमा मूल्य नबढेको बताए । तरकारी, खाद्य सबै चिजमा मूल्य बढ्ने तर, त्यही खाएर दूध दिने गाइको दूधमा मूल्य नबढ्ने हुँदा कृषक मारमा परेको बताए ।‘गाइलाई खान्दिने घासदेखि दाना सबैमा मूल्य बढे पछि पहिलेकै मूल्यमा दूध बेच्न सकिँदैन, त्यसैले दूधमा मूल्य बढाउन माग गरिएका छौं,’ देवकोटाले भने ।

 

 

केन्द्रीय दूग्ध सहकारी संस्थानले भने पाउडर दूध आयात रोक लगाउनु पर्नेमै जोड दिएको छ । अन्य व्यवसायीले भने चाडपर्व नजिक आएकाले दूग्ध व्यवसायीहरुले फाइदा लिन यस्तो गर्न लागेको आरोप लगाएका छन् ।

 

 

नेपालमा दूधको उत्पादन प्रत्येक दिन  ५ लाख ४० हजार लिटर दूध आवश्यक पर्छ । नेपालमा ४ लाख लिटरको हाराहारीमा दूध उतपादन हुने गरेकोम कृषि विभागले जानकारी दिएको छ ।

 

 

प्रत्येक वर्ष दूध होलीडे हुने भएकाले दूध होली डेमा दूध विक्री नभएर बाटोमा पोखिने समेत भएकाले पछिल्लो समयम चितवन मिल्कले पाउडर दूध उत्पादन समेत गर्न थालेको छ ।

 

 

आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा २० लाख ९२ हजार मेट्रिकटन दूध तथा दूधजन्य उत्पादन भएको थियो । यसैगरि, आव २०७५/७६ फाल्गुनसम्ममा १४ लाख ७५ हजार ३ सय ३३ मेट्रिक टन दूध उत्पादन भएको छ ।

औद्योगिक ‘हब’ बन्दै मेचीनगर, एकै वर्षमा थपिए ३८४ व्यावसायिक फर्म Read Previous

औद्योगिक ‘हब’ बन्दै मेचीनगर, एकै वर्षमा थपिए ३८४ व्यावसायिक फर्म

ईट्टा उद्योगमा साढे २ लाखलाई रोजगारी तर, ७० प्रतिशत भारतीय कामदार Read Next

ईट्टा उद्योगमा साढे २ लाखलाई रोजगारी तर, ७० प्रतिशत भारतीय कामदार