काठमाडौं । चालू आर्थिक वर्ष लक्ष्यको ९९ प्रतिशत राजश्व संकलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालू आवको फागुनसम्ममा २ खर्ब ५३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ९९.१३ प्रतिशत हो ।
विभागले फागुन महिनासम्ममा २ खर्ब ५५ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा विभागले २ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सो वर्ष उक्त अवधिमा २ खर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । सो समयमा विभागले लक्ष्यको ८९.४६ प्रतिशत राजस्व संकलन गरेको थियो ।
गत आर्थिक वर्षमा विभागले कुल ३ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कुल २ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।
चालू आर्थिक वर्षमा सरकारले आयकर १ खर्ब ७ अर्ब ६ करोड रुपैयाँ संकलन गरेको छ । सो अवधिमा १ खर्ब ९ अर्ब १० करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य राखेको थियो । गत आवको फागुन मसान्तसम्ममा आयकर १ खर्ब १६ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको थियो । सो वर्ष १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँ आयकर संकलन गर्ने लक्ष्य रहेको थियो ।

चालू अवमा घरभाडा कर लक्ष्यको ७१ प्रतिशत मात्र संकलन भएको छ । सो अवधिमा १ अर्ब ७९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको हो । विभागले उक्त समयमा २ अर्ब ५१ करोड ७६ लाख रुपैयाँ घरभाडा राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
गत आवमा सोही अवधिमा २ अर्ब ६७ लाख रुपैयाँ घरभाडा राजस्व संकलन गरेको थियो । फागुन मसान्तसम्मका लागि विभागले घरभाडा करबापत ३ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।
स्वास्थ्यतर्फ चालू आवको फागुन मसान्तसम्ममा ३ अर्ब १ करोड ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो अवधिमा २ अर्ब ९ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । सरकार स्वास्थ्यतर्फ लक्ष्य भन्दा बढी राजस्व उठाउन सफल भएको हो । गत आवको सोही अवधिमा १ अर्ब ९४ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
शिक्षातर्फ चालू आवमा लक्ष्यको २५ प्रतिशत मात्र राजस्व संकलन भएको छ । फागुन मसान्तसम्ममा कुल २५ करोड २३ लाख रुपैयाँ राजस्व संकलन भएको हो । चालू आवको सो अवधिमा ९७ करोड १९ लाख रुपैयाँ शैक्षिक कर संकलन गर्ने लक्ष्य रहेको थियो । गत आवमा शैक्षिक तर्फ ५० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
आन्तरिक राजस्व विभागका निर्देशक तथा प्रवक्ता अर्जुन ढकाल यो वर्ष शिक्षातर्फ कम राजस्व संकलन भएको बताउँछन् । उनले शिक्षा क्षेत्र अझै पूर्णरुपमा सञ्चालनमा आउन नसकेका कारण राजस्व कम संकलन भएको बताए ।
‘राजस्व संकलन गत वर्षको तुलनामा राम्रो छ, शिक्षा तर्फ अझै सुधार हुन बाँकी छ,’ ढकालले चाणक्य पोष्टसँग भने । आर्थिक वर्ष २०७५÷७६ मा कुल ३ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । सो आवमा ४ खर्ब ४ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । सो वर्ष आयकरतर्फ १ खर्ब ७० अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।