स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउँदै महासंघ, ५० उद्यमीलाई पूँजी लगानी गर्दिने

काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई अधिकतम प्रयोग गर्दै रोजगारीको अवसर खोज्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासङ्घले स्टार्टअप व्यवसायलाई विशेष रुपमा अगाडि बढाउने भएको छ ।

 

महासङ्घले स्टार्टअपको प्रवद्र्धनमार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्ने ध्येयका साथ ‘स्टार्टअप एण्ड इनोभेसन’ समिति गठन गरेको छ । महासङ्घले पहिलो पटक यस्तो समिति गठन गरेको हो । कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित समितिमा त्यस क्षेत्रमा स्थापित युवा उद्यमी सहभागी छन् ।

 

समितिले नव उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोडने तथा महासङ्घले आर्थिक रुपान्तरण मार्गचित्र मार्फत अगाडि सारेको प्रतिवर्ष चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्यलाई पूरा गर्न लागि पर्नेछ । स्टार्टअप/उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने, मुलुकभित्र नवीनतम सोचसहितको उद्यमशीलता प्रवद्र्धन गर्न उद्योग मन्त्रालयअन्तर्गत लगानी प्रवद्र्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

 

नव उद्यमीहरूको पहिचान गरी उनीहरूलाई अगाडि बढ्न आवश्यक पूँजी लगानी स्वरूप जुटाई सहयोग गर्नेलगायतका महत्वपूर्ण कार्यहरू गर्नेछ । नवीन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप/उद्योग व्यवसायको व्यावसायिक सफलताका लागि समितिअन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराइने छ ।

 

लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको जानकारी दिँदै अध्यक्ष गोल्छाले त्यसका लागि यही चैत महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने बताए। आवेदन दिन चाहने स्टार्टअप/उद्योग व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी सञ्चालनमा आएको हुनुपर्नेछ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिने छ ।

 

नेपालमा पछिल्लो पटक नवीनतम सोचमा आधारित उद्यम व्यवसायमा विस्तारै बढोत्तरी हुँदै गएको महासङ्घको भनाइ छ । खासगरी महाभूकम्प र कोभिडपश्चात नेपालमा पनि स्टार्टअप व्यवसायले गति लिएको छ । प्रविधिमा आधारित साना तथा मझौला व्यवसायहरू उच्च वृद्धि भइरहेको देखिन्छ । विश्व इनोभेसन सूचकाङ्कमा नेपाल १२६ देशमध्ये १०९ औँ स्थानमा रहेको छ ।

 

नेपालमा स्टार्टअपको अवधारणा अहिलेसम्म पनि नयाँ नै छ । हरेक वर्ष स्वदेश तथा विदेशका विश्व विद्यालयबाट समेत आफ्नो अध्ययन पूरा गरेर आउने सङ्ख्या निकै ठूलो भएकाले त्यसलाई समेट्न सकिने कार्यकारिणी सदस्य आचार्यको भनाइ छ ।

 

युवाहरुमा नवीनतम सोच अत्यधिक रहेको पाइन्छ । अहिले स्टार्टअप थालेका उद्यमीहरु २५ देखि ४० वर्षका युवा र उनीहरू विदेशका प्रतिष्ठित शैक्षिक संस्थाहरूमा अध्ययन गरी आएका नै अधिक छन् ।

तनहुँ जलविद्युतको बाँध निर्माण गर्न साढे १६ अर्बमा ठेक्का Read Previous

तनहुँ जलविद्युतको बाँध निर्माण गर्न साढे १६ अर्बमा ठेक्का

बेनी-जोमसोम सडक ४ दिन बन्द हुने Read Next

बेनी-जोमसोम सडक ४ दिन बन्द हुने