कोरोनाको खोप किन्न विश्‍व बैंकले नेपाललाई ८ अर्ब ७० करोड दिने

काठमाडौं । कोरोना रोकथाम र खोप अभियानमा सघाउन विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड रुपैयाँ) दिने भएको छ ।

 

विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपको लागि ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको हो ।

 

यस वित्तीय सहयोगद्वारा समतामूलक वितरण योजनाको माध्यमबाट कम्तीमा एक तिहाई जनसंख्यासम्म खोपको सुविधा विस्तार गर्न सकिने अपेक्षा गरिएको विश्व बैंकले जनाएको छ ।

 

‘कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो,’ विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।

 

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रुपैयाँ) बराबरको कोभिड-१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मूल आयोजना तथा सरकारको समग्र कोभिड-१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।

 

यस सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड-१९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समूहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ ।

 

बाँकी रकमले कोभिड-१९ खोपका पहलहरूलाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरु, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्‍याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।

 

‘यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,’ विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने।

 

‘कोभिड(१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड-१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।’

 

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड-१९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो।

 

विश्व बैंकको बोर्डले आईडा मार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर (अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्ड (ARTF) को ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रम (ESMAP) को ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ ।

 

यस वित्तीय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एशियाका देशहरूमा न्यायसंगत, निष्पक्ष र समतामूलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।

ठेकेदारको बदमासी, काम शुरु नै नगरी  ४३ करोडमा भवन बनाएको भनी कागजात तयार Read Previous

ठेकेदारको बदमासी, काम शुरु नै नगरी ४३ करोडमा भवन बनाएको भनी कागजात तयार

कृषिमा चालू वर्षकोभन्दा ५ अर्ब कम बजेट सिलिङ Read Next

कृषिमा चालू वर्षकोभन्दा ५ अर्ब कम बजेट सिलिङ