काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिलानै तयारी गरी लगानी सम्मेलन गर्न सके त्यो बढी फलदायी हुने बताएका छन् । उनले त्यस्तो तयारी नगरी लगानी सम्मेलन लगायतका कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको बताए ।
‘अब हामीले ‘रेडिमेड प्रोजेक्ट’ सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन,’ यो यथार्थ हो ।’
महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका नेपालमा रहेका दूतावासहरूसँग पनि यस विषयमा छलफल अगाडि बढाएको भन्दै उनले हाम्रो प्रयास साँच्चिकै परिणाममुखी हुनुपर्छ महासंघ त्यसको तयारीमा रहेको पनि स्पष्ट पारे ।
‘२०४६ सालको परिवर्तन पश्चात मुलुकले अवलम्वन गरेको आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी समेत आएका थिए तर विविधकारणबाट त्यो विस्तार भएर जान सकेन । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले प्रोफिट पनि राम्रो गरेका छन् तैपनि थप बाह्य लगानी भित्रन सकेको छैन, समस्या कहाँ छ त्यसको निक्र्यौल गर्न सरकार तथा निजी क्षेत्रको एकीकृत प्रयासको खाँचो छ,’ अध्यक्ष गोल्छाले भने ‘नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।’
‘बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘वाह्य लगानी आकर्षणको अर्को महत्वपूर्ण पक्ष भनेको कन्ट्री रेटिङ पनि हो जुन हामी भर्खर त्यसको अभ्यास गर्दैछौं । अर्को एकद्वार प्रणालीको प्रभावकारी उपयोगमा सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।’
कोभिडकै कारण यतिखेर विश्वमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको वेला कोभिडपश्चात नेपालमा बाह्य लगानी आकर्षण गर्न अहिलेदेखिनै गृह कार्य गर्न जरुरी छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल बाह्य लगानी आकर्षणका लागि लालयित छ भन्ने संदेश दिन समितिले कार्य गर्ने विश्वास आफूले गरेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका विषयमा गहिरो अध्ययन गरी महासंघको सुझाव तयार गर्न समितिलाई सफलताको शुभकामना दिए ।
महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार भएको छ । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ छन् ।
त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देश बन्धु बस्नेत अजित, सुनिल केसी, डा. नारायण प्रसाद रेग्मी र कुमार पन्त हुनुहुन्छ भने आमन्त्रितहरूमा संदीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, संजय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरु प्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी छन् ।