काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)लाई तीनदिने स्पष्टिकरण सोधेको छ ।
संचारमाध्यमहरुमा धितोपत्र मूल्यमा प्रभाव पर्ने समाचारहरु आएको भन्दै नेप्सेले ३ दिनभित्र स्पष्टिकरण बुझाउन निफ्रालाई भनेको हो । विभिन्न संचारमाध्यममा निफ्राले ३० मिलियन डलरको बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत गराउने विषय समाचार आएपछि त्यसको सत्यतथ्य के हो भन्ने बारे ३ दिन भित्र स्पष्टिकरण दिन भनेको छ ।
१० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो , नेप्सेलाई जानकारी नगरी किन मिडियामा प्रचार गरेको लगायतका विषयमा तीनदिन भित्र नेप्सेले जवाफ माग गरेको छ ।
बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिन अगाडी संचारकर्मीसँगको अन्तरक्रियामा यी विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
बैंकले चालू आर्थिक वर्षभित्रै डलरमा बोण्ड जारी गर्न लागेको शुरुमा करीब २ करोड ५० लाख अमेरिकी डलर देखि ३ करोड डलरसम्मको बोण्ड जारी गरिने बताएका थिए ।
सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने छन् । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्यापिङ’ गरी बोन्ड जारी हुने ५ वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बताएका थिए ।
साथै अहिले पनि निफ्रासँग करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यससम्बन्धी प्रक्रिया भने अघि नबढेको बताएका थिए ।
