काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले करिब १३ लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपीओ ) जारी गर्ने भएको छ ।
लघुवित्तले संस्थापक र साधरण सेयरको हिस्सा मिलाउन १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ विक्री गर्न लागेको हो ।एफपीओपछि कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत हुनेछ।
लघुवित्तले गतवर्ष एनआरएन लघुवित्तलाई गाभेको थियो । सोभन्दा अघि दिव्य लघुवित्तलाई पनि गाभेको थियो। सूचीकृत कम्पनीहरुले सूचीकृत नभएका कम्पनीहरु गाभेका कारण सेयर संरचना मिलाउन एफपीओ जारी गर्न लागेको हो।
एफपीओ जारी गर्न लघुवित्तले मर्चेन्ट बैंकहरुसँग कोटेशन आह्वान गरेको छ ।जसका लागि कम्पनीले एफपीओ जारी गरिसकेका इच्छुक अनुभवी मर्चेन्ट फाइनान्स कम्पनीलाई फपीओ जारी गरेबापत लिने शुल्कको विवरणसहित पेश गर्न आह्वान गरेको छ ।
एफपीओ जारी गर्दा प्रिमियममा (प्रतिकित्ता १०० रुपैयाँमा थप मूल्य जोडेर)जारी गर्न पाउने भए पनि कम्पनीले प्रतिकित्ता कति रुपैयाँमा सेयर जारी गर्ने भन्ने बारे अहिलेसम्म केही खुलाएको छैन ।