काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता आइतबारदेखि ओरालो लागेको बजार लगातार तेस्रो दिन पनि गिरावट आएको हो । यससाता ३ कारोबार दिनमा नेप्से करिब ४८ अंकले घटेको छ ।
सूचकमा झिनो गिरावट भए पनि कारोबार भने ह्वात्तै घटेको छ ।पछिल्लो दुई हप्तामा दैनिक औसत कारोबार रकम क्रमशः घट्दै गएको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा गतसाता त्यो घटेर ६ अर्बमा सीमित भएको थियो । यससाता कारोबार रकम झनै घटेर साढे अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०५ कम्पनीको ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँ बराबरको ७८ लाख १६ हजार ८७४ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहमा हरियाली छाएको छ भने बाँकी ६ समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै २९६.९७ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १२८.८३ अंकले घटेको छ ।
कारोबारमा आएका २०५ कम्पनीमध्ये ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रस्ट्रक्चर बैंक २० करोड र अरुण भ्याली हाइड्रोपावरको १४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज रैराङ हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ४.६० प्रतिशत गुमाएका छन् ।