काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता आइतबार करिब २२ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको छ ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । पछिल्लो दुई हप्तामा दैनिक औसत कारोबार रकम क्रमशः घट्दै गएको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा गतसाता त्यो घटेर ६ अर्बमा सीमित भएको थियो । यससाता कारोबार रकम झनै घटेर ५ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१० कम्पनीको ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँ बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहमा हरियाली छाएको छ भने बाँकी १० समूहको परिसूचक राताम्मे भएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६८.११ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २०१.५६ अंकले बढेको छ ।
कारोबारमा आएका २१० कम्पनीमध्ये ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै अपर तामाकोशी र अरुण भ्याली हाइड्रोपावरको समान २९/२९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन ऊर्जा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर, रैराङ हाइड्रो डेभलपमेन्ट र युनाइटेड फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.१८ प्रतिशत गुमाएका छन् ।