काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन सरकारसँग आग्रह गरेका छन् ।
चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बर अन्तर्गतको नेपाल महिला चेम्बरले होटल र्याडिसनमा आयोजिते विशेष समारोहमा श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको बताए । ‘जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गदैछौँ,’ उनले भने । अध्यक्ष श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह गरे ।
नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन् । महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनले बताइन् । महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न उनले माग गरिन् ।
उक्त कार्यक्रमको उपराष्ट्रपति नन्दबहादुर पुनले समारोहको उद्घाटन गरे । । उक्त अवसरमा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको वास्तविक सम्मान हुन नसकेको बताए ।
‘संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ,’ उपराष्ट्रपति पुनले भने, ‘विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।’
व्यवसायीहरू सम्मानित
१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले ५ जना महिला व्यवसायीलाई सम्मान गरेको छ ।
आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएकी छिन् । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुप र महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरे ।
सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्नदबहादुर पुनले सम्मानपत्र प्रदान गरे ।