७ महिनामा २४ अर्ब विदेशी लगानी प्रस्ताव, चीनले मात्रै १८ अर्ब लगानी गर्दै, कुन देशले कति ?

काठमाडौं । कोरोनाका बीच नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) प्रस्ताव आउने क्रम जारी छ। कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका बेला विदेशी लगानीकर्ताको नेपालमा लगानी गर्न भने उत्साहित नै देखिएका छन् ।

 

नेपालमा औद्योगिक विकासको शुरुआती चरणमा रहेकाले भविष्यमा राम्रो प्रतिफल लिन सकिने देखेर विदेशी लगानीकर्ताहरू कोरोनाका बीच लगानी गर्न इच्छुक देखिएको जानकारहरू बताउँछन् ।

 

चालू आवमा विश्वका विभिन्न १२ देशका उद्यमीले नेपालमा २४ अर्ब लगानी प्रस्ताव गरेका छन् । जसमा चिनियाँ लगानीकर्ताले मात्रै १८ अर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् । यो कुल विदेशी लगानी प्रस्तावको करिब ६६ प्रतिशत हो ।

 

कोरोना कहरकै बीच चालू आर्थिक वर्षमा कुल २४ अर्ब १३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । चालू आवको ७ महिना (साउन माघ) सम्ममा कुल १३१ उद्योग सञ्चालनका लागि उक्त रकम बराबरको वैदेशिक प्रतिवद्धता आएको उद्योग विभागले जनाएको छ ।

 

यस अवधिमा विभिन्न १५ देशका लगानीकर्ताले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । ती उद्योगहरु संचालनमा आएपछि करिब ३ हजार जना बढीले प्रत्यक्ष रोजगार पाउनेछन् ।

 

गत आर्थिक २०७६/७७ को सोही अवधिको तुलनामा चालू आवमा वैदेशिक लगानी प्रतिबद्धता ५७ प्रतिशतले घटेको विभागका विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले बताए ।

 

उनका अनुसार गत वर्षको माघसम्ममा कुल ४१ अर्ब ८७ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको थियो । यो चालू आवको सोही अवधिको तुलनामा १७ अर्ब ७४ करोड बढी हो । गत आवको ७ महिनामा विदेशी लगानीका कुल १६१ उद्योग दर्ता भएका थिए ।

 

गत वर्षको तुलनामा वैदेशिक लगानी प्रतिवद्धतामा कमी आए पनि कोरोनाका बीच २४ अर्ब बढीको प्रस्ताव आउन सकारात्मक रहेको पराजुलीले बताए । अझै १ २ वर्ष विदेशी लगानी बढ्ने सम्भावना नरहेको उनले बताए । ‘कोरोनाका कारण लगानी गर्न इच्छिुक राष्ट्रहरु पछि हटेका छन्, अहिले लगानी गर्न उनीहरुसँग पैसा छैन, अब २ वर्ष जति यस्तै हुनेछ,’ पराजुलीले भने ।

 

चीनले मात्रै १८ अर्ब बढी लगानी गर्दै

 

चालू आवमा विश्वका विभिन्न १२ देशका उद्यमीले नेपालमा उद्योग संचालनका लागि प्रस्ताव गरेका छन् । जसमा चिनियाँ लगानीकर्ताले मात्रै १८ अर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् । यो कुल विदेशी लगानी प्रस्तावको करिब ६६ प्रतिशत हो ।

 

चीनले यस अवधिमा १७ अर्ब ९९ करोड रुपैयाँ लगानीका कुल १०५ उद्योग दर्ता गरेको छ । चिनियाँ व्यवसायी नेपालमा पर्यटन व्यवसाय गर्न आकर्षित देखिएको विभागका सूचना अधिकारी पराजुलीले बताए । उनका अनुसार ७ महिनाको अवधिमा चीनका उद्यमीले नेपालमा होटल, रेष्टुरेन्ट लगायत पर्यटन सम्बन्धी ६८ उद्योगका दर्ता गरेका छन् । ती उद्योगमा उनीहरुले ७ अर्ब ८० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

 

चीनले कृषिमा ४० करोड रुपैयाँ लगानीमा २ उद्योग सञ्चालनका लागि दर्ता गरेको छ । यस्तै, सूचना तथा प्रविधि क्षेत्रमा ४० करोड लगानीमा ४ उद्योग, ३ उत्पादनमूलक उद्योगमा २० करोड, सेवामूलक क्षेत्रका २९ उद्योगमा ५ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

 

कुन देशबाट कति लगानी प्रतिबद्धता ?

 

चालू आवको ७ महिनाको अवधिमा चीन बाहेक अन्य ११ देशले ६ अर्ब बढी लगानी प्रस्ताव गरेका छन् । ब्रिटिस्ट भर्जिन आइल्याण्डले नेपालमा पर्यन क्षेत्रमा ३ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

 

अमेरिकाले नेपालमा ५ उद्योग सञ्चालनका लागि लगानी प्रतिबद्धता जनाएको छ । ऊर्जा तर्फ एक उद्योगका लासग र उत्पादन क्षेत्रमा ४ उद्योग सञ्चालनका लागि अमेरिकाले १ अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

 

भारतले ५६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएको छ । भारतले उत्पादनमा २ उद्योगका लागि र सेवामूलक क्षेत्रमा ३ उद्योगका लागि लगानी प्रतिबद्धता जनाएको हो । उत्पादनका लागि ३६ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने २० करोड रुपैयाँ सेवामूलक क्षेत्रका लागि लगानी प्रतिबद्धता आएको छ ।

 

मलेसियाबाट ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । मलेसियाले पर्यटन तर्फ एक मात्र उद्योगका लागि सो लगानी प्रतिबद्धता गरेको हो । यस्तै, मेक्सिकोले उत्पादन क्षेत्रमा २ उद्योग सञ्चालनका लागि लगानी प्रतिबद्धता जनाएको छ । सो उद्योग सञ्चालनका लागि म्याक्सीकोले १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको हो ।

 

यसैगरी, दक्षिण कोरियाले पर्यटन तर्फ २ उद्योग सञ्चालनका लागि १३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । नेदरल्याण्डले उत्पादन तर्फ १ उद्योग सञ्चालनका लागि ३ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

 

बेलायतले पर्यटन र उत्पादन दुवै क्षेत्रमा २/ २ उद्योग सञ्चालनका लागि लगानी प्रतिबद्धता जनाएको छ । सो उद्योग सञ्चालनका लागि बेलायतले पर्यटन तर्फ र उत्पादन तर्फ १०/१० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको हो ।

 

 

चैत ६ देखि सिंगटी हाइड्रोको आइपीओ आउँदै, २ लाख कित्तासम्म भर्न पाइने Read Previous

चैत ६ देखि सिंगटी हाइड्रोको आइपीओ आउँदै, २ लाख कित्तासम्म भर्न पाइने

आइतबारदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरु हुने, यी १५ केन्द्रमा लगाइन्छ खोप Read Next

आइतबारदेखि दोस्रो चरणको खोप कार्यक्रम शुरु हुने, यी १५ केन्द्रमा लगाइन्छ खोप