काठमाडौं । सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । पछिल्लो दुईसाता यता निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ ।
यससाता पछिल्लो दुई दिनमै नेप्से १०० अंकले घटेको छ भने पछिल्लो दुई सातामा करिब २२५ अंकले घटिसकेको छ । सूचकसँगै कारोबार रकम पनि दैनिक घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक साढे ८ अर्बको कारोबार हुँदै आएकोमा यससाता घटेर दैनिक ६ अर्ब हाराहारीमा सीमित भएको छ ।
लामो समयदेखि बुलिस ट्रन्डमा रहेको सेयर बजार पछिल्लो दुई सातायता लगातार घट्न थालेपछि लगानीकर्ताको मनोबल घट्दै गएको देखिन्छ । जसले कारोबार रमक घट्न सहयोग पुगेको देखिन्छ ।
बुल ट्रेन्डमा रहेको बजार बीचबीचमा करेक्शन आउनु सामान्य भए पनि दैनिक उच्च अंकले गिरावट आउँदा भने लगानीकर्ता हतोत्साहित हुँदै गएको आकलन गर्न थालिएको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएको छ । जसले बजारमा बैंकको ब्याजदर बढ्ने हल्ला चलाइएको छ । यसले बजारमा नकरात्मक प्रभाव पारेको देखिन्छ ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरे पनि लगानीकर्ता राजनीतिक स्थिरता छाउनेका शसंकित भएका छन् । देशमा राजनीतिक अस्थिरता छाउने आशंकाले गर्दा लगानीकर्ताले सेयरमा थप लगानी गर्न नचाहँदा पनि बजार ओरालो लागेको लगानीकर्ताहरु बताउँछन् ।
यस्तै, प्रफिट बुक गर्नेहरु हाबी हुँदा पनि बजारमा चाप परेको देखिन्छ । संस्थागत र ठूला लगानीकर्ता नाफा बुक गरी बाहिरिन थालेकाले समेत बजार ओरालो लागेको जानकारहरु बताउँछन् ।
आज सेयर बजार मापक सूचक नेप्से ३९.२३ अंकले घटेर२४१६.०१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँ बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर किनबेच भएका छन् ।
सोमबार कारोबारमा आएका १३ वटै समूहमध्ये होटल र व्यापार समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४५२.५३ अंकले बढेको छ ।
कारोबारमा आएका २१२ कम्पनीमध्ये ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलकमको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै २९ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै शिखर एशियन लाइफ इन्स्योरेन्स २३ करोड र नेपाल लाइफ इन्स्योरेन्सको २२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले घटेको बजारमा एशियन लाइफ इन्स्योरेन्स सेयरधनीले सबैभन्दा धेरै ६.३६ प्रतिशत गुमाएका छन् ।