कृषिमा क्रान्ति गर्न खाद्य बैंक : सदस्यलाई १ लाखको सेयर, यसरी हुनेछ बिचौलियाको अन्त्य
गीता भुजेल
प्रकाशित : 8:50 am, मंगलबार, फाल्गुन १८, २०७७

काठमाडौं । नेपालमा वर्षेनी खाद्यन्नमा परनिर्भरता बढ्दै गएको छ । पछिल्लो वर्षहरुमा खाद्य वस्तु उत्पादन घट्दै गएको छ भने खाद्यान्न आयात बढ्दै गएको छ । कृषि प्रधानमुलुक भनिए पनि वैज्ञानिक र आधुनिक खेती प्रणाली अपनाउन नसक्दा कृषि उत्पादकत्व घट्दै गएको सरकारी तथ्यांकहरुले नै देखाइरहेका छन् ।

 

 

 

यसैक्रममा देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ कामको थालनी गरिएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ ।

 

बैंकमा आबद्ध हुने हरेक सदस्यलाई १ लाख रुपैयाँको सेयरधनी बनाउने योजना रहेको छ । हरेक सदस्यललाई प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १ लाख रुपैयाँ बराबरको १००० कित्ता सेयर दिने जनाइएको छ ।

 

२ अर्ब रुपैयाँबाट शुरुवात गरी उत्पादन र व्यापारमूलक कार्य अघि बढाइने छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने ७ वटै प्रदेशमा कार्यालय स्थापना गरिने योजना रहेको छ । यस बैंकमा आवश्यक ज्ञान, सीप, बीउ, बिजन, मलजल, दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिकको सहभागीता रहने छ ।

 

राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेती अहिले अधिकांश गाउँमा उत्पादन हुने जग्गा बाँझो रहेको र देशलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि खेती प्रणालीबाट काम गर्नुपर्ने बताउछन् । शुरुवाती अवस्थामा २ अर्ब रुपैयाँ लगानीबाट शुरु गरिए पनि आवश्यक परे थप्दै जाने उनले बताए ।

 

 

‘अर्गानिक खानेकुराहरु उत्पादन गरेर आत्मनिर्भर हुनेतर्फ अगाडि बढ्नु पर्छ, रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हाम्रो योजना हो,’ उप्रेतीले भने ‘किसानलाई अहिले पाएको भन्दा राम्रो मूल्य दिने छौँ, उपभोक्ताले पनि अहिलेको जस्तो मंहगी खेप्नु पर्ने छैन ।’ बैंकले दिने खाद्य कुन बेला, कहाँ उत्पादन भएको कसरी बनेको सहित प्रमाणित गरेर उपभोक्ताको चुल्होमा पुर्याउने उनको दाबी छ । उनले हालसम्म ५०० हाराहारीमा सेयर सदस्य जोडिएको बताए ।

 

बैंकले किसानहरुलाई सहभागी गराई उनीहरुलाई बीउबिजन उपलब्ध गराउनुका साथै उनीहरुको समान किनिदिने ग्यारेन्टी पनि गर्ने छ । ‘अन्य बैंकहरु पैसा लिनुहुन्छ तर, हामी पैसाको कारोबार गर्दैनौँ, हामीले वस्तु उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाएर बढी भएको विदेशमा निर्यात गरेर पैसा कमाउने छौँ,’ उप्रेतीले भने । उनले कृषिका लागि धेरै ठूलो बजेटको आवश्यक नपर्ने भन्दै पाइलट प्रोजेक्टको रुपमा सातै प्रदेशमा कार्यालय राखेर काम गर्ने बताए ।

 

सदस्यलाई न्यूनतम १ लाखको सेयर

 

बैंकमा आबद्ध हुने हरेक सदस्यलाई १ लाख रुपैयाँको सेयरधनी बनाउने योजना रहेको छ । हरेक सदस्यललाई प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १ लाख रुपैयाँ बराबरको १००० कित्ता सेयर दिने जनाइएको छ ।

 

शुरुमै नगद लगानी गर्न नसक्ने किसानहरुका लागि छुट्टै किसिमको व्यवस्था गरिएको उनले बताए । पैसा नहुने तर सहभगी हुन चाहनेहरु खेती प्रणालीमा पनि जोडिन सक्ने उनले बताए । खेती प्रणालीमा जोडिनको लागि अहिले १० हजार रुपैयाँ खातामा राख्नु पर्नेछ । उसले अर्को वर्ष फेरि १० हजारको सेयर पनि हाल्न चाहान्छ भने त्यो पनि खरिद गर्न सक्ने छ ।

 

‘हाम्रो योजना सबै खालका मानिसलाई यसमा सहभागी गराउने हो । किसानले सेयर लिए वाफत उनीहरुको जे वस्तु फल्छ त्यही विउ हामीले दिन्छौं । त्यसपछि प्राङ्गारिक मल बनाउन सिकाउँछौं र तालिम पनि दिन्छौं,’ उप्रेतीले भने ।

 

बैंक आफैले उत्पादन, भण्डारण र बजारीकरण गर्ने भएकाले त्यसबीचमा मध्यस्थकर्ता नरहने भएकाले बिचैलियाको बिगबिगी समेत अन्त्य हुने जनाइएको छ ।

 

यसरी सेयर होल्डरमा रहेर खेती गर्नेहरुको खेतमा अनुगमन गरेर सिकाउने काम पनि गरिने बताउ । अन्तिममा उत्पादन भइसकेपछि त्यो वस्तु खरिद गर्ने ग्यारेन्टी पनि बैंक आफैले लिने उनको दाबी छ । पैसा नहुने किसानले श्रम गरेर पनि खाद्य बैंकसँग जोडिन सक्ने उनले बताए ।

 

उनले निरन्तर ३ वर्ष नाफामा गएपछि आइपीओ निष्काशन गर्ने समेत बताए । बैंकमा १ हजारदेखि १५ सयसम्म हाम्रो प्रमोटर सेयर होल्डर रहने जनाइएको छ । अहिलेसम्म ५ सय बढिले सेयर भरिसकेको बताए ।

 

यसरी हुन्छ बिचौलीयाको विस्थापन

 

खाद्य बैंक सञ्चालनपछि बिचौलिया विस्थापन हुने उप्रेतीको दाबी छ । आफैले उत्पादन, भण्डारण र बजारीकरण गर्ने भएकाले त्यसबीच बिचौलिया भन्ने कुनै तेस्रो अथवा चौंथो व्यक्ति नरहने उनले बताए ।

 

‘खाद्य बैंकको परिकल्पना बिचौलिया भन्ने हुँदैन, किनभने हामी आफैले उत्पादन भण्डारण र बजारीकरण गर्छौं । यसमा कुनै पनि मध्यस्थकर्ता हुँदैनन् । त्यसमा किसान र कृषिमा काम गर्नेहरुलाई सरिक गरिन्छ’ उप्रेतीले भने ।

 

खाद्य बैंक नेपालका लागि नयाँ र नेपाली कृषि क्रान्तिको शुरुवात रहेको उनले बताए । चालू आर्थिक वर्षको ७ महिनामा चामल, मकै, गहुँ, कोदोलगायत ४८ अर्बको खाद्यान्न आयात भएको सरकारी तथ्यांक छ ।

 

१८०० बिघाा जग्गा भाडामा लिइँदै

 

बैंकले बर्दियाका विभिन्न ठाउँमा २०० बिघा जग्गा भाडामा लिइसकेको, मोरङ र सुनसरीमा १ हजार ४१ बिघा तथा लमजुङमा ५५० बिघा जग्गा लिने तयारीमा रहेको उनले बताए ।

 

बैंक आफै खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दही, माछा, मासु, चिया, जडिबुटी लगायत उत्पादन तथा व्यवस्थापन गर्ने छ । कृषि क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गरी ठाउँअनुसारको बाली उत्पादनमा गर्ने प्रोत्साहन गर्ने उनको भनाइ छ । सातै प्रदेशमा पाइलट प्रोजेक्टका रुपमा शुरुवात गर्ने र सम्भावना हेरेर सोहीअनुसार उत्पादन गर्दै जाने बैंकले जानकारी दिएको छ ।

 

१५० भन्दा बढी कृषि विज्ञहरुको सहभागितामा चार महिनाअघि स्थापना भएको सो बैंकले अर्गानिक उत्पादनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । बैंकसँग २०० जनाभन्दा बढी कृषि प्राविधिक संलग्न छन् ।

 

हाल बैंकले कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिजमा लिएर उत्पादन शुरु गरिसकेको छ । किसानहरुसँग पनि सहकार्य गर्दै उत्पादन बढाउने बैंकको योजना छ । पहिलो प्राथमिकता अन्नबालीलाई दिइने र दोस्रो चरणमा माछा, मासु, फलफूल, दूध, तरकारी उत्पादन गरिने बैंकले जनाएको छ ।