काठमाडौं । साउनयता आक्रामक ढंगले बढेको सेयर बजार गत हप्तादेखि भने घट्न शुरु गरेको छ । गत आइतबार इतिहासकै सर्वाधिक २६४०.३५ विन्दुलाई चुमेर ओरालो लागेको बजार एक हप्तामै करिब १६६ अंकले घटिसकेको छ ।
साउन देखि बढ्न थालेको सेयर बजार एकाध दिन भारी अंकले घटेको भएको भए पनि फेरि उकालो लाग्ने गरेको थियो । तर गत हप्तादेखि भने बजारले उकालो चढ्ने लय गुमाएको देखिएको छ । बजारमा कारोबार रकम नघटेको हुनाले अहिलेको मूल्यमा लगानीकर्ताहरू सेयर राम्रैसँग बेचिरहेका छन् र उनीहरूलाई तत्काल बजार माथि चढ्छ भनेर विश्वास नलागेको देखिएको छ ।
पछिल्लो समय बैंकहरुले पनि आक्रमक रुपमा कर्जा विस्तार गरिरहेकाले बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएको छ । जसले चाँडै बैंकको ब्याजदर समेत उकालो लाग्ने सम्भावना बढेर गएको छ ।
यो सँगै बजारमा लामो खाले करेक्सन आएको हो कि बजार अब उच्चतम विन्दु चुमेर वियरिस ट्रेण्ड मै लागेको हो भन्ने खाले बहस हुन थालेको छ । ‘कोरोनाको महामारीको कारण लगानीका क्षेत्रहरू संकुचित भएका थिए । बजारमा तरलता उपलब्ध थियो । ब्याजदर पनि घटिरहेको थियो । त्यसैले सेयर बजारमा उछाल आएको हो । अब त्यो अवस्थामा विस्तारै परिर्वतन आउन थालको छ । त्यसैले बजार घट्दै जानु स्वभाविक हो । अबको नेपालको वित्तीय क्षेत्रको अवस्था कस्तो हुन्छ त्यसले नै अबको बजारको दिशानिर्देश गर्छ,’ सेयर बजारका नियमित लगानीकर्ता नरेश पोखरेलले भने, ‘अब यो बुलरन २६४० लाई नै उच्च विन्दुको रुपमा स्थापित गरेर लामो समयसम्मको लागि वियरिस ट्रेण्डमा जान पनि सक्छ । वा, कही समयपछि फेरि उकालो चढ्न पनि सक्छ । ’
केही महिनासम्म बजार लगातार बढेपछि र पुनर्बीमा र निफ्रा (पूर्वाधार विकास बैंक) जस्ता कम्पनीहरूको आइपीओको ब्यापक चर्चा भएपछि नयाँ लगानीकर्ताहरू बजार पसेका छन् । धेरै नयाँ लगानीकर्ताहरूले सेयर २६०० विन्दु माथि नै पनि किनेका छन् । त्यस्ता लगानीकर्ताहरू भने अहिले अत्तालिएका छन् ।
‘आइपीओमा किनेका सेयरको मूल्य पनि खुब बढे । दोस्रो बजारमा पनि कम्पनीहरू हुर्हुरी बढे । त्यसैले मैले पनि पहिलो पटक दोस्रो बजारमै सेयर किने । सेयर बजार घट्न पनि सक्छ भनेर मलाइ त्यतिबेला लागेन,’ नयाँ लागानीकर्ता बाबु कँडेल भन्छन्, ‘अहिले बजार दिनदिनै घट्न थालेको छ । दोस्रो बजारमा मैले किनेका सेयर १०–१५ प्रतिशतले घटिसके । अब घाटा नै खाएर बेच्ने कि कुरेर बस्ने ठम्याउनै सकेको छैन ।’
नेपाली सेयर बजारका चर्चित विश्लेषक विष्णु बस्याल भने अहिलेको घटाइलाई स्वभावीक र सामान्य करेक्सन मात्र मान्छन् । उनका अनुसार अहिलेको बुल रन अझै २–३ वर्ष जारी रहन्छ । अझै धेरै माथि जानका लागि यस्तो करेक्सनको आवश्यकता पर्ने उनको बुझाइ छ । ‘अझै केही सय अंकको करेक्सन आउँछ र त्यसपछि मात्र बजार उकालो लाग्छ । यस्ता करेक्सनले बुलरनलाई धेरै बलियो बनाउँछ,’ उनले भने ।
सेयर बजार पनि राजनीति जस्तै अनेक संभावनाहरूको खेल हो । मानिसहरूले आ–आफ्ना ढंगले विश्लेषण गरे पनि यस्तै हुन्छ भनेर भन्न सक्ने अवस्था भने कहिल्यै हुँदैन । त्यसैले सबै लगानीकर्ताहरूले आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता खुट्याउनु र सोही अनुसार निर्णय गर्नुपर्ने हुन्छ । सेयर बजारमा धेरै पैसा कमाउने अवसर त हुन्छ तर जति धेरै अवसर उति धेरै जोखिम भनेर बुझ्नुको पनि विकल्प भने छैन ।
पछिल्लो समय बैंकहरुले पनि आक्रमक रुपमा कर्जा विस्तार गरिरहेकाले बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएको छ । जसले चाँडै बैंकको ब्याजदर उकालो लाग्ने आकलन गरिएको छ । कोरोना प्रभाव कम हुँदै गएपछि अन्य क्षेत्रमा पनि कर्जा प्रवाह हुन थालेको छ । सेयर बजारमा प्रफिट कमाएका लगानीकर्ताले अन्य क्षेत्रमा लगानी सिफ्ट गर्न थालेको लगानीकर्ताहरू बताउँछन् । बजारबाट ठूला लगानीकर्ता बाहिरन थालेकाले बजार ओरालो लाग्न थालेको जनाइएको छ ।
आज सेयर बजारमा सूचीकृत कम्पनीहरू मध्ये ४ वटा कम्पनीहरूको मात्र सेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ । ७९.७४ अंकले घटेको बजारमा पनि चन्द्रागिरी हिल्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको मात्र सेयर मूल्य बढेको छ । आज होटल बाहेल सबै उप–सूचकहरू राताम्मे भएका छन् ।
आगामी साधारण सभामा हकप्रद सेयरको प्रस्ताव गरेसँगै शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरू झुम्मिएका छन् । यस कम्पनीको मात्र आज १ अर्ब रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । बजारमा कुल कारोबार भने ८ अर्ब ३५ करोड रुपैयाँको भएको छ ।