
काठमाडौं । घरजग्गा कारोबार गुलजार बन्दै गएको छ। कोरोनाका कारण सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय अर्थतन्त्र चलायमान भएसँगै गति लिन थालेको हो । कोरोनाका कारण चैतदेखि असारसम्म भएको घरजग्गा कारोबारले साउनदेखि क्रमशः गति लिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्म कुल ३ लाख ३० हजार ६०४ घरजग्गा किनबेच भएका छन् । यस आधारमा साउन यता औसतमा दैनिक १ हजार ५७४ घरजग्गा किनबेच भएका छन् ।
साउनमा ३७ हजार ९७० हजार घरजग्गा किनबेच भएकोमा ६ महिनामै त्यो दोब्बरले बढेको छ । चालू आवको माघ महिनामा मात्रै देशभर ७६ हजार २८८ घरजग्गा किनबेच भएका छन् । यो चालू आवको साउनको तुलनामा दोब्बरले बढी हो । यस्तै माघमा ६४ अपार्टमेन्ट पनि किनबेच भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार विभागका अनुसार चालू आर्थिक वर्षको माघसम्म कुल ३ लाख ३० हजार ६०४ घरजग्गा किनबेच भएका छन् । यस आधारमा साउन यता औसतमा दैनिक १ हजार ५७४ घरजग्गा किनबेच भएका छन् ।
विभागको तथ्यांक अनुसार हरेक महिना घरजग्गाको कारोबार बढ्दै गएको देखिएको छ । साउनको तुलनामा भदौमा घरजग्गा कारोबार सुस्त देखिए पनि त्यसयता भने हरेक महिना कारोबार बढ्दै गएको छ । भदौमा कुल ५५ हजार १५८ घरजग्गा सम्बन्धी काम भएका थिए । जसमध्ये १४ हजार ९८५ घरजग्गा किनबेच भएका थिए भने १८ हजार ७७९ घरजग्गा रोक्का, ११ हजार ५९९ घरजग्गा फुकुवा गरिएको थियो । सो महिनामा २ वटा मात्र अपार्टमेन्ट किनबेच भएको थियो ।
यसैगरी, असोजमा १ लाख ४ हजार ९२८ घरजग्गा कारोबार भएका थिए । सो महिनामा ३६ हजार ४३६ घरजग्गा रोक्का, १८ हजार ११८ फुकुवा र ३६ हजार ६८९ घरजग्गा किनबेच भएका थिए । सो महिना १० वटा मात्र अपार्टमेन्ट कारोबार भएको थियो ।
कात्तिकमा पनि १ लाखभन्दा बढी घरजग्गा सम्बन्धी काम भएका छन् । विभागका अनुसार यस महिना १ लाख ४ हजार ९२८ वटा घरजग्गा कारोबार भएको थियो । जसमा ३६ हजार ३३६ घरजग्गा रोक्का, १८ हजार ११८ फुकुवा र २६ हजार ६८९ घरजग्गा किनबेच भएका छन् ।
यसैगरी, मंसिरमा १ लाख ६८ हजार ६ घरजग्गा सम्बन्धी काम भएको थियो । यो महिना ५३ हजार २८१ घरजग्गा रोक्का, ३२ हजार २६० फुकुवा र ६१ हजार ४५१ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ ।
पुस महिनामा कुल २ लाख १४ हजार ४६० घरजग्गा सम्बन्धी काम भएका छन् । सो मध्ये ६९ हजार १८२ घरजग्गा रोक्का, ४० हजार २६५ फुकुवा र ७६ हजार ५३२ वटा घरजग्गा खरिद विक्री भएका छन् । गरिएका छ । यो महिना ७१ अपार्टमेन्ट कारोबार भएका छन् ।
चालू आर्थिक वर्षमा घरजग्गा सम्बन्धी कारोबारबाट २४ अर्ब १३ करोड ३६ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ । सो मध्ये ५ अर्ब ९३ करोड १९ लाख रुपैयाँ पूँजीगत लाभकर र १३ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ ।
किन बढ्दै छ कारोबार ?
घरजग्गाको कारोबार बढ्नुको मुख्य कारण कोरोनाले शिथिल भएको अर्थतन्त्र क्रमशः चलायमान हुनु नै हो । कोरोनाले बन्द भएका उद्योगधन्दा, व्यवसाय पछिल्लो समयमा संचालनमा आउँदा मानिसको आयआर्जनमा वृद्धि हुँदै गएको छ ।
विश्वव्यापी रुपमा कोरोनाको खोप आइसकेको र नेपालमा समेत लगाउन थालिसकिएकाले मानिसहरु आशावादी हुँदै गएका छन् । सबै किसिमको व्यापार व्यवसायले गति लिँदै गर्दा मानिसहरु व्यापार व्यवसायबाट कमाएको पैसा घरजग्गामा लगानी गर्न थालेका छन् । जसले हरेक महिना कारोबार बढ्दै गएको हो ।
कोरोनापछि घरजग्गा किन्ने बेच्ने बेच्नेहरु निकै बढेको घरजग्गा व्यवसायी संघका अध्यक्ष केदार खरेलले बताए । उनले कोभिडका कारण अन्य बजारमा लगानी सुरक्षित हुने अवस्था नदेखेपछि मानिसहरु घरजग्गामा झुमिन आउँदा कारोबार वृद्धि भएको बताए ।
‘जग्गाको विक्री बढेसँगै भाउ पनि बढेको छ । अन्य क्षेत्रमा लगानी डुब्ने भएकाले धेरै यतै तर्फ लागेका हुन्, यहाँ जग्गा किनेर राखेपछि थोरै बढ्ला तर कहिले घट्दैन भन्ने भएको छ,’ खरेलले भने ।
यसैगरी, पछिल्लो समय बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो भएको छ । अहिले सहजै र सस्तो ब्याजदरमा ऋण पाइने भएकाले नियमित आम्दानी भएका मान्छेहरु ब्याज सस्तो भएको मौका छोपी घरजग्गा जोड्न थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको छ ।
यस्तै, पछिल्लो समय सेयर बजारले इतिहास सर्वाधिक विन्दुमा पुगेको छ । सेयर बजारबाट कमाएका व्यक्तिहरु आफ्नो कमाइ सुरक्षित गर्न घरजग्गामा लगानी गर्न थालेका छन् । सेयर बजारबाट कमाएको पैसा घरजग्गामा डाइभर्ट हुन थालेकाले यसको कारोबार बढेको जानकारहरु बताउँछन् ।
कारोबारसँगै भाउ पनि अचाक्ली बढ्दै
घरजग्गाको कारोबारमा वृद्धि भएसँगै यसको भाउ पनि अचाक्ली बढ्न थालेको छ । घरजग्गाको माग बढेसँगै यसको भाउ पनि ह्वात्तै बढ्न थालेको हो ।
बैना गरेको जग्गा पास नहुँदै भाउ बढेन् गरेको पाइएको छ । जग्गाको माग अधिक हुँदा दिनदिनै भाउ बढ्ने गरेको कारोबारमा संलग्न व्यक्तिहरु बताउँछन् ।एउटा भाउ फिक्स गरेर बैना गरेको जग्गा पास गर्ने बेला (करिब १ महिनाको अवधि) मै आनाको २/३ लाखसम्म बढ्ने गरेको घरजग्गा व्यवसायी नवराज घिमिरेले बताए ।
उनका अनुसार पछिल्लो समय काठमाडौँमा जग्गा भन्दापनि घरहरु बढी विक्री भएको बताउँछन् । ‘जग्गा किन्न चाहनेको संख्या धेरै भए पनि उनीहरुले आफूले चाहेजस्तो जग्गा सजिल्लै पाउन सक्ने अवस्था छैन, घिमिरेले चाणक्या पोष्टसँग भने, ‘कित्ता काट नखुल्दा टुक्रा जग्गाको उपलब्धता कम छ । जसले मानिसहरु केही ऋण थप गरेरै भए पनि घर किन्न थालेको देखिन्छ ।’