काठमाडौंमा फेरि देखियो बर्डफ्लु, १५ हजार कुखुरा नष्ट

काठमाडौं । काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागले तारकेश्वर नगरपालिका–१ मा व्यावसायिकरुपमा पालिएका कुखुराको नमूनाको केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पीसीआर परीक्षणमा बर्डफ्लु रोग पुष्टि भएको विभागका महानिर्देशक डा दयमन्ती श्रेष्ठले जानकारी दिए ।

 

यसअघि पनि त्यहाँ बर्डफ्लु रोग देखिएको थियो । यही फागुन ८ गते सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार अहिले सो ठाउँलाई पूर्ण निःसङ्क्रमण गरिएको छ ।

 

बर्डफ्लु रोग देखिएपछि ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोइलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० वटा टर्की, ३ हजार ५७० अण्डा र तीन हजार केजी दाना नष्ट गरिएको उनले बताए ।

 

उनले विगत एक महिनादेखि वाग्मती प्रदेशको काठमाडौँको तारकेश्वर, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा देखा परेको बर्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रलगायत मुलुकभर सघन निगरानी भइरहेको जानकारी दिए।

 

महानिर्देशक डा श्रेष्ठले रोग पुष्टि भएका क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रण लिन सङ्घ, प्रदेश र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको जानकारी दिए ।

नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने Read Previous

नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण Read Next

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण