काठमाडौं । पछिल्लो ३ वर्षमा संघीय सरकार ऋण दोब्बरभन्दा धेरैले बढेको छ । ३ वर्षको अवधिमा सावजनिक ऋण ८ खर्ब ८ अर्ब रुपैयाँ ऋण बढेको सरकारी तथ्यांकले देखाएको छ ।
अर्थमन्त्रालयको तथ्यांक अनुसार २०७४ फागुनसम्म ६ खर्ब ९८ अर्ब रहेको सार्वजनिक ऋण चालू आवको पुससम्ममा २१६ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
चालू आवको पुससम्ममा सरकारले भुक्तानी गर्न बाँकी ऋण १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब ४० प्रतिशत बराबर हो । तथ्यांक विभागका अनुसार नेपालको जीडीपी आकार साढे ३७ खर्ब रहेको छ ।
सरकारको कुल ऋणमध्ये ८ खर्ब ४२ अर्ब ५९ करोड रुपैयाँ बाह्य (विदेशी) ऋण र ६ खर्ब ६४ अर्ब २१ करोड रुपैयाँ आन्तरिक ऋण रहेको अर्थ मन्त्रालयले जनाएको छ।
२०७७ असार मसान्तसम्म सरकारको तिर्न बाँकी खुद ऋण १३ खर्ब ४६ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।यसैगरी २०७६ असार मसान्तसम्म सरकारको सावजनिक ऋण १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । जसमा विदेशी ऋण ५ खर्ब ९३ अर्ब र आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा नेपाल सरकार (संघीय सरकार) थप ७८ अर्ब ४ करोड रुपैयाँ ऋण लिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालू आवको पुससम्म ५७ अर्ब आन्तरिक र ३० अर्ब ४ करोड वैदेशिक ऋण लिएको हो ।
प्रति नेपालीको थाप्लोमा कति ऋण ?
प्रत्येक नेपालीको थाप्लोमा करिब ५० हजार सार्वजनिक ऋण रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार बिहीबार (आज)सम्म नेपालको जनसंख्या ३ करोड २ लाख ५५ हजार २१६ छ । सबैलाई समानुपातिक रुपमा भाग लगाउँदा प्रत्येक नेपालीको टाउकोमा ऋणको भारी ४९ हजार ८०३ रुपैयाँ सार्वजनिक ऋण पर्न आउँछ ।
आव २०७३/७४ मा प्रतिव्यक्ति ऋण २४ हजार रुपैयाँ थियो भने आव २०७४/७५ मा ३१ हजार पुगेको थियो । आव २०७५/७६ मा ३५ हजार ५०० रुपैयाँ ऋण पुगेको थियो । आव २०७६/७७ मा ४२ हजार थियो । यस हिसाबले पछिल्लो ४ वर्षमा मात्रै एक नेपालीको भागमा २५ हजार ऋण बढेको छ ।
पछिल्लो समय कोरोना भाइरसका कारण देशको अर्थतन्त्र सुस्त जस्तै भएको छ । जसले गर्दा सरकारको आम्दानीको मुख्य स्रोत राजस्व असुलीमा ठूलो गिरावट आएको छ । राजस्व असुलीमा आएको कमीले गर्दा आगामी दिनमा सरकारको ऋण झनै बढ्ने सम्भावना रहेको छ ।
६ महिनामा ३० अर्ब ७० करोड ऋण भुक्तानी
सरकारले पुस मसान्तसम्ममा ऋणको साँवा र ब्याजसमेत गरी कुल ३० अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । अर्थ मन्त्रालयका अनुसार सो अवधिमा आन्तरिकतर्फ ६ अर्ब साँवा र १३ अर्ब ९६ करोड ब्याज सहित १९ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा आन्तरिक ऋणको साँवातर्फ २ अर्ब ४० करोड र ब्याजतर्फ १० अर्ब ३१ करोड गरी १२ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।
त्यसैगरी, चालू आवको ६ महिनामा वैदेशिक ऋणको १० अर्ब ७४ करोड साँवा भुक्तानी भएको छ ।
पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ । यो गत आवको सोही अवधिको तुलनामा १५६.९ प्रतिशतले बढी हो । गत आवको ६ महिनामा ७२ अर्ब ९५ करोडको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको तथ्यांक छ ।