काठमाडौं । सेयर बजार कमब्याक भएको छ । पछिल्ला दुई दिनमा करिब ५५ अंकले घटेको बजार आज दोहोरै अंकले कमब्याक भएको छ ।
सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजार खुल्नसाथ उच्च अंकले बढेको बजार अन्त्यमा १२ अंकले बढेर बन्द भएको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । मंगलबारको तुलनामा कारोबार रकम झन्डै २ अर्बले घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १२.५६ अंकले बढेर २५९९.०७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०४ कम्पनीको ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १२ वटा समूहमध्ये अन्य र जलविद्युत समूह बाहेक बाँकी १० समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १८४.३४ अंकले अंकले बढेको छ भने जलविद्युत २२.९३ अंकले घटेको छ ।
कारोबारमा आएका २०४ कम्पनीमध्ये १२८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ५८ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ५६ करोड र नेको इन्स्योरेन्स २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइएमई जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले बढेको बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.३९ प्रतिशत गुमाएका छन् ।