उखु अभावमा सिजनमै बन्द हुँदै चिनी मिल, किसान पलायन हुँदा वर्षेनी उत्पादन घट्दै

काठमाडौं । सरकारले कृषिमा आत्म निर्भर बनाउने नारा घन्काइ रहे पनि कृषकका खास समस्या समाधान र उनीहरुलाई खेतीप्रति आकर्षित गर्न नसक्दा किसानहरु दिनप्रतिदिन यस पेशाबाट पलायन हुँदै गएका छन् ।

 

कृषिबाटै आफ्नो गुजरा चलाउने कृषक आफूले उत्पादन गरेको उपजको सही मूल्य नपाउने, कृषि उपज विक्री गरेको पैसा पाउन आन्दोलनसम्म गर्नुपर्ने भएपछि कृषकहरु खेती छाडेर अन्य वैकल्पिक पेशा अपनाउन थालेका छन् । यसको पछिल्लो उदाहरण हो उखुखेती ।

 

उद्योगीले उधारोमा उखु लिएर वषौँसम्म भुक्तानी नदिनु, सरकारले दिने अनुदान पनि सोझै किसानको हातमा नपर्नु, चिनी मिलबाट झुक्तानी पाउन महिनौं आन्दोलन गर्नुपर्ने लगायत कारणले उखुकिसान पलायन हुने क्रम बढेको छ ।

 

उद्योगीले उधारोमा उखु लिएर वषौँसम्म भुक्तानी नदिनु, सरकारले दिने अनुदान पनि सोझै किसानको हातमा नपर्नु, चिनी मिलबाट झुक्तानी पाउन महिनौं आन्दोलन गर्नुपर्ने लगायत कारणले उखुकिसान पलायन हुने क्रम बढेको छ ।

 

किसानहरु उखु खेतीप्रति निरुत्साहित हुँदै गएपछि उत्पादन पनि वर्षेनी घट्दै गएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार पछिल्लो ५ वर्षमा उखु उत्पादन घट्दो क्रममा रहेको छ ।

 

आर्थिक वर्ष २०७२/७३ मा ८० हजार ९३१ हेक्टरमा ४३ लाख ४६ हजार ७ सय ५४ मेट्रिकटन उखु उत्पादन भएको थियो आव २०७३/७४ मा त्यो घटेर ३२ लाख १९ हजार ५६० मेट्रिकटनमा सीमित भएको थियो ।

 

यसैगरी, आव २०७४/७५ मा ७८ हजार ६०९ हेक्टरमा ३६ लाख ७९ हजार ५०८ मेट्रिकटन, २०७५/७६ मा कुल ७१ हजार ६२५ हेक्टरमा ३५ लाख ५७ हजार ९३४ मेट्रिकटन उखु उत्पादन भएको थियो ।

 

गत वर्षमा कति उखु उत्पादन भयो भन्ने मन्त्रालयसँ ग तथ्यांक नै छैन भने चालू आर्थिक वर्षमा करिब २७ लाख मेट्रिकटन हाराहारीमा उखु उत्पादन भएको अनुमान गरिएको छ ।

 

उखु नहुँदा सिजनमै बन्द हुँदै चिनी मिल

 

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले पछिल्लो समय उखु नपाउँदा उद्योगहरु सिजनमै बन्द हुन थालेको बताए । विगतको वर्षहरुमा सिजनमा ३ महिना संचालन हुने उद्योगहरु मुश्किलले ७५ दिन मात्र संचालन भएको उनले बताए ।

 

४/५ वटा उद्योगले किसानको रकम भुक्तानी नगर्दा किसान निरुत्साहित भएर उखु खेती गर्न छाडेको उनले बताए । ‘यो पटक उखु अभाव भएको छ । उखु नहुँदा उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन्,’ अग्रवालले भने ‘यस्तै हो भने केही वर्षमा यी सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने छन् ।’

 

अहिले चिनी उद्योगले उखु नपाउँदा उद्योग पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । ५ वर्षअघिको अवस्था हेर्ने हो भने नेपालमा १४ वटा चिनी उद्योग सञ्चालनमा थिए । त्यसमध्ये उखु नपाएर र भुक्तानी दिन नसकेर ४ वटा चिनी मिल बन्द भइसकेका छन् । हाल १० वटा चिनी मिलले निकै कम क्षमतामा उखु क्रसिङ गरिरहेका छन् । किसानले उखुको उत्पादन गर्न छाडेपछि ती उद्योग पनि आउँदा दिनमा बन्द हुने स्थिति आउने चिनी मिल उद्योगी बताउँछन् ।

 

किसानबाट उखु खरिद गर्नुपर्ने र भुक्तानी गर्ने झमेलामा फस्नुभन्दा उद्योगीले भारतबाट नै सस्तोमा चिनी ल्याएर बेच्दा फाइदा हुने देखेका छन् । यसले स्वदेशी चिनी विक्री नभएको बहानामा किसानको भुक्तानीमा आलटाल गरिरहेका छन् ।

 

किसानलाई उखु खेतीतर्फ फर्काउन उखु किनेको ३/४ दिनमा भुक्तानी गर्ने गरी व्यवस्था ल्याउनु पर्ने, हाइब्रीड जातका बीउहरु वितरण गरी उखुको उत्पादन बढाउने खालका प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने अग्रवालले बताए ।

 

उद्योगीकै कारण कृषक पलायन हुँदै : मन्त्रालय

 

सरकारले किसानलाई अनुदान दिन थालेपछि उखु खेती केही फस्टाउन थाले पनि पछिल्ला वषहरुमा चिनी मिलहरुले समयमै भुक्तानी नगर्दा किसानहरु पलायन हुन थालेको सरोकारवाला निकायको बुझाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले चिनी मिलहरुका कारण उखु किसानहरु अन्य क्षेत्रमा लाग्न थालेको बताए । अब किसानलाई यस पेशाबाट पलायन हुनबाट रोक्न मन्त्रालयले सरकारले दिने अनुदान सीधै किसानका बैंक खातामा हाल्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

 

‘सीधै किसानको खातामा अनुदान हाल्दिने व्यवस्थाले कृषकलाई उखुखेतीतर्फ प्रोत्साहित गर्ने नीति लिएका छौं,’ घिमिरेले भने ‘तर, किसानको रकम चिनी मिलहरुले भुक्तानी गर्दैन्न, किसानले सधै भुक्तानी पाउन आन्दोलन गर्नु परेको छ, यसले केही घट्न पनि सक्छन् ।’

 

भुक्तानीमा उद्योगी र सरकार दुवैको आलटाल : किसान

 

उखुको पैसा भुक्तानीमा चिनी मिल र सरकार दुवैले सधै आलटाल गर्दै आएको किसानहरुको आरोप छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले सरकारले बारम्बार भुक्तानी गराउने आश्वासन दिए पनि अहिलेसम्म किसानले भुक्तानी पूरा पाउन नसकेको बताए ।

 

‘सरकारले उद्योगीकै पक्षमा निर्णय गर्छ, भुक्तानी रकम पाउन सधै आन्दोलनमा आउनु पर्छ, अब किसन आन्दोलनमा आउने कि खेती गर्ने?,’ मैनालीले भने ‘यही वर्षदेखि किसानहरु उखुको विकल्पको खोजीमा अन्य खेती तिर लाग्न थालिसकेका छन् ।’

 

एउटा उखु उत्पादन गर्न १८ महिना लाग्छ । त्यसपछि मात्र उखु काटिन्छ । उखु बुझाएको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने सम्झौता चिनी मिलसँग भए पनि किसानले कहिले समयमा रकम अपाउने गरेका छैनन् । कतिपय उखु किसानले ७ वर्षदेखि भुक्तानी नपाएको गुनासो गरेका छन् । यस्तै उखु रोप्ने बेलामा मल अभाव अथावत नै छ । सिँचाइ सुविधान समेत सबै ठाउँमा पुग्न सकेको छैन ।

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि वृद्धि, कुन गन्तव्यको कति बढ्यो ? (सूचीसहित) Read Previous

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि वृद्धि, कुन गन्तव्यको कति बढ्यो ? (सूचीसहित)

आज भारतबाट कोरोनाको १० लाख डोज खोप आइपुग्ने Read Next

आज भारतबाट कोरोनाको १० लाख डोज खोप आइपुग्ने