काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका लागि औद्योगिक क्षेत्रको योगदान बढाउने गरी नीत तथा कार्यक्रम तयार गर्न जोड दिइएको छ ।
अर्थ मन्त्रालयले शुरु गरेको २०७८/७९ को बजेट निर्माणका लागि कोभिड १९ र निर्वाचनको घोषणाले चुनौती थपेको छ । कोभिड १९ महामारीका कारणबाट थला परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नेगरी आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न अर्थ सचिवहरुले सुझाएका छन् ।
पूर्व मुख्य सचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अलावा अर्थराजनीतलाई समेत ध्यान दिनु पर्ने बताए । उनले यसो गर्न सकिएमा मात्र अर्थतन्त्रको पुनस्र्थापना एंव दीगो विकासको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् ।
पूर्व मन्त्री एंव अर्थ सचिव विद्याधर मल्लिकले निजी लगानी विस्तारका आवश्यक वातावरण सृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्न आवश्यक रहेको बताएका छन् ।
यस्तै पूर्व अर्थसचिव रामेश्वर खनालले व्यवसायिक वातावरण निर्माण र नीतगत एंव कानूनी सुधारमा जोड दिएका छन् । उनले प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीत तथा कार्यक्रमको मस्यौदा निर्माण गरी परिस्थिति मूल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्नु पर्ने बताए ।
पूर्व अर्थ सचिव डा. शान्ताराज सुवेदीले कोभिड १९लाई अवसरका रुपमा लिएर कोभिड १९ मा असर परेको क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आवश्यक रहेको बताए ।
पूर्व अर्थ सचिव सुमनप्रसाद शर्माले आगामी आर्थि वर्षमा उत्पादनमूलक क्षेत्रमा खर्च बढाउन सुझाव दिए । पूर्व अर्थ सचिव युवराज भुसालले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिक्ता दिएर अनावश्यक पूर्वधार निर्माणका कार्यक्रम कटौती गर्नु पर्ने बताएका थिए ।
पूर्व अर्थ सचिव शंकरराज अधिकारीले आर्थिक वृद्धि र सोका लागि निजी एवं निजी–सरकारी साझेदारीमा विशेष जोड दिएका छन् । उनले अर्थमन्त्रालयले आर्थिक सुधार र लगानीको वातावरण बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने बताए ।
पूर्व अर्थ सचिव लालशंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । उनले यसका लागि केवल परामर्शदाता नियुक्ति गर्नेमा भन्दा मुलुकी प्रशासनको आन्तरिक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
‘केवल परामर्शदाता ल्याउने भन्दा वैदेशिक सहायता नीत एवं व्यवस्थापनका सम्बन्धमा निर्ममतापूर्वक पुनरावलोकन तथा समीक्ष गर्नुपर्छ,’ घिमिरेले भने ।