सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान, यी ८ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । बैंकिङ क्षेत्रमा चमक कायमै रहँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । यससाता सोमबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

 

बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।नेप्सेले २६३६ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २६३० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि बुधबार नेप्सेले इतिहासकै उच्च २६११.४५ विन्दु पार गरेको थियो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सेयर बजार सम्बन्धी विद्यमान कुनै पनि व्यवस्था परिवर्तन नगरेसँगै लगानीकर्ता उत्साहित हुँदा यससाता लगातार बजार उकालो लागेको हो । सोमबार एकैदिन ९२ अंकको उछाल आएको बजारमा त्यसयता हरेक दिन दोहोरो अंकले बढ्दै आएको छ ।

 

यस्तै, नेप्से इतिहासकै उच्च विन्दुमा पुगेको दिन लगानीकर्ताको सम्पत्ति ३५ अर्बले बढेर बजार पूँजीकरण सवा ३६ खर्ब नाघेको छ । यो हालसम्मकै धेरै हो । नेप्सेका अनुसार बिहीबार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ७२.९२ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १०९.७३ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०६ कम्पनीमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता एनआइर्सी शिया बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ५६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ५० करोड र सिभिल बैंक ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा बिहीबार ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर, कर्णाली डेभलप्मेन्ट बैंक, एभरेष्ट बैंकको प्रिफिरेन्स सेयर, सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र ग्रीन डेभलप्मेन्ट बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.९१ प्रतिशत गुमाएका छन् ।

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै Read Previous

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाका लागि सम्झौता हुँदै

२१ वर्षमा पनि पूरा भएन धोबीखोला करिडोर निर्माण, अझै १० प्रतिशत काम बाँकी Read Next

२१ वर्षमा पनि पूरा भएन धोबीखोला करिडोर निर्माण, अझै १० प्रतिशत काम बाँकी