काठमाडौं । सेयर बजारमा अर्को सिमेन्ट उद्योग आउने भएको छ । अहिले शिवम् सिमेन्ट मात्र रहेकोमा अब सर्वोत्तम सिमेन्ट पनि थपिने भएको हो ।
यसैक्रममा, बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले रेटिङ सम्पन्न गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तमको आइपीओलाई ‘इक्रा एनपी-आइआर बीबीबी प्लस’ रेटिङ दिएको छ ।यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने अवस्था औसतभन्दा राम्रो रहेको जनाउँदछ ।
कम्पनीले यसअघि आइपीओ जारी गर्न माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभामाबाट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने जनाएको छ । हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।