सेयर बजारमा उछाल आउँदा एकैदिन बन्यो तेहोरो रेकर्ड, यी ३६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सेयर बजार सम्बन्धी विद्यमान कुनै पनि व्यवस्था परिवर्तन नगरेसँगै लगानीकर्ता उत्साहित हुँदा बजामा तीव्र उछाल आएको हो ।

 

यसअघि राष्ट्र बैंकले सेयर कर्जाम कडाई गर्ने हल्ला बाहिरिएसँगै पछिल्ला दिनहरुमा बजारमा उच्च अंकको गिरावट आएको थियो । बीमा र लघुवित्त क्षेत्रका कम्पनी चम्किँदा आज बजारमा उछाल आएको हो ।

 

बजारमा उछाल आउँदा आज एकै दिन तेहोरो रेकर्ड बनेका छन् ।आज एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र एकैदिन सर्वाधिक  अंकको वृद्धिको रेकर्ड बनाएको छ ।

 

रेकर्ड १ : नेप्से इतिहासकै उच्च बिन्दुमा

 

सोमबार नेप्से करिब ९२ अंकले बढेसँगै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्सेले २५८६ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २५८० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि माघ २६ गते नेप्सेले इतिहासकै उच्च २५६१ विन्दु पार गरेको थियो ।

 

रेकर्ड २ : एकैदिन सर्वाधिक अंकको वृद्धि

 

नेप्सेले आज एकै दिन इतिहासकै उच्च अंकको वृद्धिको रेकर्ड बनाएको छ । सोमबार नेप्से ९२ अंकले बढेर एकैदिन सर्वाधिक अंकको वृद्धिको कीर्तिमान बनाएको हो । यसअघि नेप्से साउन ४ गते एकैदिन ८४ अंकले बढेको थियो ।

 

रेकर्ड ३ : सर्वाधिक कित्ता सेयर कारोबार

 

नेप्सेले आज एकैदिन सर्वाधिक कित्ता सेयर कारोबारको रेकर्ड पनि बनाएको छ । आज २ करोड २४ लाख बढी कित्ता सेयर किनबेच हुँदै नयाँ रेकर्ड बनाएको हो । यसअघि माघ २६ गते एकैदिन सर्वाधिक २ करोड १९ लाख कित्ता सेयर कारोबार भएको थियो

 

यस्तै, आज लगानीकर्ताको सम्पत्ति एकैदिन १ खर्बले बढेर साढे ३५ खर्ब नाघेको छ । यो हालसम्मकै धेरै हो । नेप्सेका अनुसार सोमबार सूचीकृत कम्पनीको बजार पूाजीकरण ३५ खर्ब ६३ अर्ब रुपैयाँ बढी पुगेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ९२.४२ अंकले बढेर २५८६.०१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०५ कम्पनीको १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर कारोबार भएको छ ।

 

सोमबार कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६७९.९१ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा समूह ४४७ र माइक्रोफाइनान्स ३७० अंकले बढेको छ ।

 

कारोबारमा आएका २०५ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ६ वटा कम्पनीको कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा निर्धन उत्थान लघुवित्त परेको छ । यसको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ६८ करोड र छिमेक लघुवित्त ४७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

आज लगानीकर्ता माइक्रोफाइनान्स र बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । कारोबारमा आएका अधिकांश बीमा र लघुवित्त कम्पनीको सेयर मूल्य बढेको छ ।

 

३ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

 

उच्च अंकले बढेको बजारमा आज ३ दर्जन कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

 

उछाल आएको बजारमा आज छिमेक, ग्रामीण विकास, मिथिला, किसान, एनएमबी, फरवार्ड, आरएसडीसी, उन्नति सहकार्य, आशा, सबैको र स्वाभिमान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, मेरो माइक्रोफाइनान्स, विजय, डेप्रोक्स, ग्लोबल आइएमई, सारथी नेपाल, समिट, स्वाबलम्वन, आरम्भ चौतारी, गुराँस, स्वरोजगार, लक्ष्मी, सूर्योदय, महुली सामुदायीक लघुवित्तको सेयर मूलयमा पनि पोजेटिभ सर्किट लागेका छन् । यी कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, र्मिमिरे, इन्फिनिटी, गणपति, निर्धन, फर्स्ट, नेरुडे, सिभिल लघुवित्त, नेपाल इन्फ्रस्ट्रक्चर बैंक र हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

 

नेप्सेले रेकर्डैरेकर्ड बनाएको दिन आज पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.०३ प्रतिशतले गुमाएका छन् ।

देशभर २०० पर्यटन पूर्वाधार बन्दै, कुन ठाउँमा के पूर्वाधार निर्माण हुँदै ? (सूचीसहित) Read Previous

देशभर २०० पर्यटन पूर्वाधार बन्दै, कुन ठाउँमा के पूर्वाधार निर्माण हुँदै ? (सूचीसहित)

सिटिजन लाइफको ७५ करोडको आइपीओ आउँदै, साधारण सभाबाट प्रस्ताव पारित Read Next

सिटिजन लाइफको ७५ करोडको आइपीओ आउँदै, साधारण सभाबाट प्रस्ताव पारित