काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक सेयर किन्नेको ओइरो लागेको छ । आइतबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको बैंकको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको हो ।
हिजो १० प्रतिशतले बढेको बैंककोे सेयर मूल्य आज पनि पोजेटिभ सर्किट लागेको छ । दुई दिनमै बैंकको सेयर प्रतिकित्ता ७१ रुपैयाँले बढेको छ ।
बजार खुल्ने बित्तिकै पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । दिउँसो १ बजेसम्म बैंकको सवा ३१ लाख कित्ता भन्दा बढी सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन । यद्यपि, सो समयसम्म सर्किट मूल्यमा ४० हजार कित्ता कारोबार भइसकेको छ ।
सर्वसाधरणतर्फको ८ करोड कित्ता सेयर भए पनिविक्रीकर्ता शून्य रहेकाले बैंकको सेयर भाउ अझै बढ्ने सम्भावना देखिन्छ ।
कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।
बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।
जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए । ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।
हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।